पत्रकारहरूलाई समाचार कक्षबाट पक्राउ गरिएको र पत्रकार पक्राउ गर्नका लागि समाचार कक्षमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको छानबिन गर्नुपर्ने माग सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा उठेको छ ।
सचिवालयको शनिबारको बैठकमा पत्रकार पक्राउ गरिएको र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको हो । रास्वपाका एक पदाधिकारीले भने, ‘सरकारका पछिल्ला घटनाक्रमको विषयमा सचिवालय बैठकमा धेरै चर्चा भएको छ । मुख्यगरी शुक्रबार पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको विषयमा प्रधानमन्त्री कार्यालयले हामीलाई थाहा छैन भनेको र गृहमन्त्रीले पनि जानकारी नदिएको भनी दिएका अभिव्यक्तिलाई लिएर गम्भीर छलफल भयो ।
रास्वपा सचिवालय सदस्यले सञ्चार क्षेत्रमा प्रहरी परिचालन गरिएको विषयमा बैठकमा आपत्ति जनाएका थिए । ‘सचिवालय बैठकको अधिकांश समय यो विषयमा नै खर्च भयो । सबैले आफ्ना मत राख्नुभएको छ । संविधान, यो व्यवस्था मान्ने हाम्रो सरकारले ठीक गरेर भन्नेमा सबै एकमत हुनुहुन्छ । सरकारमा रहेका सचिवालयका सदस्यले पनि ठीक भएन भन्नुभयो,’ ती सदस्यले भने ।
रास्वपा सचिवालयका अर्का सदस्यले पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी प्रवेश गरेको घटनाको छानबिन गर्नुपर्ने माग उठेको बताए । ‘हिजोको घटनाबारे छलफल भयो । हिजो भएको घटनाको छानबिन गर्ने माग उठेको छ । संविधान र लोकतन्त्रप्रति पार्टी र सरकार प्रतिबद्ध छ, गल्ती गर्ने मान्छेले जवाफ दिनुपर्छ । त्यसका लागि सरकारले छानबिन गर्नुपर्छ भन्ने कुरा सबै सदस्यबाट आयो । त्यो काम गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने सबैको धारणा थियो,’ ती सदस्यले भने । कसले छानबिन गर्ने र कसरी कारबाही गर्ने भन्नेबारे थप कुराकानी गर्ने ती सदस्यले जानकारी दिए .
सचिवालयको बैठकमा गृहमन्त्री सुधन गुरुङलाई बोलाएर पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरी खटाउने कामको विषयमा ब्रिफिङ लिनुपर्ने माग पनि उठेको बताइएको छ । ‘स्वतन्त्र मिडियामा कुनै पनि प्रकारबाट दखल दिनुहुँदैन भन्नेबारे सचिवालय एकमत रह्यो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा सहमहामन्त्री असिम शाह पनि यसमा सहमत हुनुहुन्थ्यो,’ ती सदस्यले भने ।
कान्तिपुर बाट साभार


