चाडपर्वमा घर, रोजगारीमा फेरि भारतकै भर

  ।   १५ कार्तिक २०८३, शनिबार १९:३९

दसैं आउनुअघि कैलाली र कञ्चनपुरका सिमानाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लातर्फ फर्किनेको चहलपहल थियो। भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली र तराईका सहरमा काम तथा अध्ययनका लागि बसेकाहरू चाडपर्व मनाउन गाउँ फर्किरहेका थिए।

वर्षभरि रोजगारीका लागि घरबाहिर रहेकाहरू गाउँ पुगेपछि पहाडी बस्तीमा दसैंको रौनक थपिएको थियो। अहिले भने दृश्य फेरिन थालेको छ। दसैंको टीका सकेर उनीहरू फेरि रोजगारीकै लागि भारतका सहरतर्फ फर्किन थालेका छन्।

डडेल्धुरा बसपार्कमा पछिल्ला दिनमा भारत जाने यात्रु भेटिन थालेका छन्। कर्मथलो फर्किन बसपार्क पुगेका कतिपय यात्रु घरपरिवारसँग चाडपर्व मनाएर केही दिनको बसाइपछि फेरि आफ्नै कर्मथलोतर्फ लागेका हुन्।

भारतको बैंग्लोर, चेन्नई, दिल्ली, मुम्बईलगायत सहर सुदूरपश्चिमका धेरैका लागि रोजगारीको गन्तव्य बनेका छन्। कोही निर्माण क्षेत्रमा काम गर्छन्, कोही होटल तथा अन्य श्रममूलक पेसामा छन्। वर्षभरि ती सहरमा काम गरेर परिवारको खर्च जुटाउने उनीहरू खेतीपातीको समय र चाडपर्वमा भने गाउँ फर्किने गर्छन्। दसैं, तिहार र खेतीपातीको कामलाई घर आउने अवसर बनाउने र त्यसपछि फेरि रोजगारीमा फर्किने क्रम धेरै परिवारको नियमित जीवनशैलीजस्तै बनेको छ।

भागेश्वर गाउँपालिका–४ की लक्ष्मीदेबी भाटका अनुसार रोजगारी र बसाइँसराइका कारण गाउँका धेरै घरमा वर्षभरि चहलपहल हुँदैन। दसैं–तिहार र खेतीपातीका बेला भारत तथा अन्य ठाउँबाट घर फर्किनेहरूका कारण गाउँमा केही समय रौनक थपिन्छ। तर चाडपर्व सकिएपछि उनीहरू फेरि आ–आफ्नो कर्मथलो फर्किँदा बस्ती सुनसान बन्ने गरेको उनले बताइन्।

गन्यापधुरा गाउँपालिका–१ का खेम भट्ट पनि दसैं मनाएर चेन्नई फर्किएका छन्। आठ–दस वर्षदेखि भारतका विभिन्न क्षेत्रमा काम गर्दै आएका उनी समय मिलाएर चाडपर्वमा घर आउने गर्छन्। यसपटक पनि दसैं मनाउन गाउँ आएका उनी टीका सकेर रोजगारीका लागि चेन्नई फर्किएका हुन्।

‘चाडपर्वका बेला समय मिलाएर घर आउनुपर्छ। यहाँ अन्य रोजगारी तथा व्यापार व्यवसाय गर्न त्यति सहज छैन,’ उनी भन्छन्, ‘अहिले भारत नै हाम्रो रोजगारीको क्षेत्र बनेको छ।’ नजिकिँदै गरेको दीपावली अर्थात् तिहारसम्म घरमै बस्ने चाहना भए पनि रोजीरोटीका लागि फेरि काममा फर्किनुपरेको उनले बताए।

अमरगढी नगरपालिका–८ की सावित्री नेपाली पनि श्रीमान्‌सँगै बैंग्लोरमा काम गर्दै आएकी छिन्। उनीहरू दसैं मनाउन घर आएका थिए। परिवारसँग चाडपर्व मनाएपछि सावित्री पनि टीका सकेर श्रीमान्‌सँगै बैंग्लोर फर्किएकी छिन्।

‘श्रीमान्‌सँगै बैंग्लोरमा काम गर्छु। दसैं मनाउन घर आएका थियौं। टीका लगाएपछि फेरि काममा फर्किएका छौं,’ नेपालीले भनिन्, ‘अब नयाँ सालमा समय मिल्यो भने नेपाल आउँछौं, नभए अर्को वर्षको दसैंमा घर आउने योजना छ ।’ रोजगारीका लागि भारतमा बस्ने उनीहरूका लागि चाडपर्वमा घर आउनु र बिदा सकिएपछि फेरि काममा फर्किनु नियमितजस्तै बनेको छ।

अमरगढी नगरपालिका–६ की गोविन्दा ताम्राकारका अनुसार खेतीपाती भित्र्याउने समय र चाडपर्वमा परदेश गएका दाजुभाइ घर फर्किँदा गाउँघर उल्लासमय हुने गरेको छ। लामो समय घरबाहिर रहेका परिवारका सदस्य फर्किएपछि गाउँमा भेटघाट र चहलपहल बढ्छ। तर, दसैं सकिएपछि उनीहरू फेरि परदेश फर्किँदा गाउँ उस्तै सुनसान बन्ने गरेको उनले बताइन्। गाउँमा बसाइँसराइ र रोजगारीका कारण पहिलेको जस्तो स्थायी चहलपहल नरहेको उनको अनुभव छ।

लामो समय भारतको चेन्नईमा काम गरेका दिलबहादुर ऐरका अनुसार चाडपर्वको समयमा भारतमा काम गर्ने धेरै नेपाली घर फर्किने गर्छन्। दसैंतिहारको समयमा नेपाली श्रमिकको आवतजावत बढ्ने गरेको उनले अनुभव सुनाए।

एकजना चालक पदम भट्टका अनुसार दसैं आउनुअघि कैलाली र कञ्चनपुरबाट डडेल्धुरालगायत पहाडी जिल्लामा आउने यात्रुको चाप बढी हुने गरे पनि अहिले त्यसको ठीक उल्टो अवस्था छ। तराईबाट पहाड आउने यात्रु निकै न्यून छन् भने पहाडबाट तराई जाने यात्रु बढी छन्।

‘दसैं आउनुअघि कैलाली र कञ्चनपुरबाट पहाडी जिल्लामा आउने यात्रु भरीभराउ हुन्थे। अहिले तराईबाट पहाड आउने यात्रु निकै कम छन्,’ उनले भने, ‘अहिले पहाडबाट तराई जाने यात्रु बढी छन्।’ विद्यार्थी, रोजगारीका लागि बाहिरिने, बसाइँसराइ गरेर तराई पुगेका तथा भारतका विभिन्न सहरमा काम गर्नेहरू कैलाली र कञ्चनपुरका सिमानाका हुँदै जाने क्रम बढेको उनले बताए।

सुदूरपश्चिमका पहाडी जिल्लामा भारत रोजगारीको पुरानो गन्तव्य हो। विशेषगरी डडेल्धुरासहित बैतडी, डोटी, अछाम, बझाङ र बाजुराका धेरै परिवारका सदस्य रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेका छन्। घरपरिवारको खर्च, बालबालिकाको पढाइ र दैनिक आवश्यकता पूरा गर्न उनीहरूले भारतमा गर्ने श्रमबाट प्राप्त हुने आम्दानीमा भर पर्नुपर्ने अवस्था छ।

कान्तिपुर बाट साभार

Next Post

भारत लैजाँदै गरेका २५ बालबालिका आफन्तको जिम्मामा

१५ कार्तिक २०८३, शनिबार १९:३९
पढाइदिने भन्दै भारत लगिँदै गरेको अवस्थामा गड्डाचौकी नाकामा रोकिएका बालबालिकालाई आफन्तको जिम्मा लगाएर घर पठाइएको छ । मंगलबार बालबालिकाका अभिभावकको जिम्मा लगाएर सुरक्षाकर्मीसँगै घरतर्फ पठाइएको हो । गत साता पढाइका लागि भन्दै हुम्लाको सिमकोट गाउँपालिका–८ का २२, हुम्लाकै खार्पुनाथ गाउँपालिका–२ का २ र अछामको साँफेबगर नगरपालिका घर भई हुम्ला सिमकोटमै […]

सम्बन्धित