
मनोज डाँगी
पुस २९, सल्यान ।
सल्यानमा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको मृत्यु भएको छ । सल्यान जिल्लाको शारदा नगरपालिका-६, बरला बजार नजिकै भएको दुर्घटनामा शारदा नगरपालिका-६, बरलाका ३० वर्षीय विरेन्द्र भण्डारीको निधन भएको हो ।
ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ नम्बरको मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले जानकारी दिए । दुर्घटनामा घाइते भएका भण्डारीको जिल्ला अस्पताल सल्यान खलंगामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस प्रहरीको नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।


