दुई लाख घूससहित विव्यस सदस्य बम रङ्गेहात पक्राउ, भ्रष्टाचार मुद्दा दायर

  ।   ३० भाद्र २०८३, मंगलवार २०:३५

कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीलाई थप सेवा सुविधा र पारिश्रमिक दिलाइदिने नाममा दुई लाख रुपैयाँ घूस लिएको अभियोगमा उनीविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारका अनुसार बमले विद्यालय व्यवस्थापन समितिको सदस्यको पदीय हैसियतको दुरुपयोग गर्दै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए।

उनले तोकिए बमोजिमको सेवा सुविधा उपलब्ध गराउन समितिबाट निर्णय गराइदिने भन्दै सेवाग्राहीबाट आफ्नो व्यक्तिगत प्रयोजनका लागि दुई लाख रुपैयाँ घूस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।

यसअघि सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले बमलाई दुई लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।

बमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीतको कसुर भएको ठहर गर्दै अख्तियारले दुई लाख रुपैयाँ बिगो कायम गरेको छ।

उनीविरुद्ध सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना र दफा ३ (१) को देहाय (ग) बमोजिम कैद सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

 

Next Post

दैलख कांग्रेसका धरोहर तथा कर्णाली प्रदेशका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन

३० भाद्र २०८३, मंगलवार २०:३५
दैलेख जिल्लाका पूर्व सभापति नेपालि कांग्रेस दैलेखका धरोहर तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको हृदयघातका कारण निधन भएको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका बुडेली निवासी शाही २००६ सालमा जन्मिएका थिए। उनी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। शाहीले २०३६ सालको जनमतसंग्रहमा […]