


कर्णाली प्रदेशबाट प्रेमकुमार बीसी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८२÷०८३ को सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम भएका छन् । भैरहवामा आयोजित कम्पनीको कार्यक्रममा बीसीलाई सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम घोषणा गरिएको हो ।
एक वर्षको अवधिमा ५ करोड ८ लाख रुपैयाँ बराबरको प्रिमियम व्यवसाय गर्दै उक्त सफलता हासिल गरेका हुन् । विसीलाई इन्स्योरेन्सका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले सम्मानपत्रसहित पुरस्कृत गरेका छन् । यो उपलब्धिले उनको व्यक्तिगत व्यावसायिक सफलतालाई मात्र स्थापित गरेको छैन, कर्णालीबाट पनि राष्ट्रियस्तरमा उत्कृष्ट व्यवसायिक पहिचान बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देशसमेत दिएको छ । नेपाल प्रथम भएपछि बीसीले यो सफलता कुनै एक दिनको उपलब्धि नभई लामो समयदेखिको संघर्ष, निरन्तर मेहनत, अनुशासन, इमान्दारिता र आफ्नो कामप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए ।
२०६८ मा नेशनल लाइफ इन्स्योरेन्समा कर्मचारीका रूपमा प्रवेश गरेका बीसीले सुर्खेत र दैलेख शाखामा काम गरेका थिए । दैलेख शाखामा कार्यरत रहँदा उनको काठमाडौं सरुवा भएको थियो । तर, काठमाडौं गएर काम गर्नुभन्दा कर्णालीमै बसेर बीमा क्षेत्रलाई अघि बढाउने उनको चाहनाले काम गर्न थालेका हुन् । त्यसपछि उनले कर्मचारीको जिम्मेवारी छाडेर अभिकर्ताका रूपमा काम गर्ने निर्णय लिए । कर्णालीमै बसेर देश तथा विदेशमा रहेका व्यक्तिहरूसम्म बीमाको महत्व र आवश्यकताबारे जानकारी पु¥याउने उद्देश्यसहित उनले अभिकर्ताको यात्रा सुरु गरे ।
कर्मचारीका रूपमा बीमा व्यवसायलाई नजिकबाट बुझ्ने अवसर पाएका बीसीले अभिकर्ताको भूमिकामा प्रवेश गरेपछि देशका विभिन्न क्षेत्रमा पुगेर बीमा व्यवसाय विस्तारमा सक्रिय भूमिका निर्वाह गरे । विभिन्न संस्थामा काम गर्दा प्राप्त अनुभव, बजारको अध्ययन तथा ग्राहकको दीर्घकालीन हितलाई प्राथमिकतामा राख्दै बीसी पुनः नेशनल लाइफ इन्स्योरेन्ससँग अभिकर्ताका रूपमा जोडिए । नेशनल लाइफका बीमा योजना, बोनस दर तथा दीर्घकालीन लाभलाई मूल्याङ्कन गरेर आफूले पुनः यही संस्थालाई रोजेको उनले बताए ।
बीमा क्षेत्रमा निरन्तर सक्रिय बीसीले सन् २०२० देखि लगातार एमडीआरटी पूरा गर्दै आएका छन् । उनले सन् २०२२ र २०२६ मा सीओटी समेत पूरा गरेका छन् । यसअघि पनि उनको व्यावसायिक यात्रा उपलब्धिमूलक रहँदै आएको छ । २०७८ र २०७९ मा उनी सञ्जाल व्यवसायतर्फ नेपाल तृतीय भएका थिए । नेशनल लाइफ इन्स्योरेन्समा तीन पटक शतक पूरा गर्ने अभिकर्ताका रूपमा समेत पहिचान बनाएका बीसीले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्जाल व्यवसायतर्फ नेपाल प्रथम हुँदै आफ्नो सफलताको यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेका हुन् ।
कर्णालीमा बसेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका ग्राहकसँग जोडिँदै बीमा व्यवसायमा निरन्तर अघि बढेका बीसीको यात्रा मेहनत, निरन्तरता र आफ्नो पेशाप्रतिको प्रतिबद्धताले भौगोलिक सीमालाई समेत अवसरमा बदल्न सकिन्छ भन्ने उदाहरणका रूपमा देखिएको छ ।
पश्चिम नेपालबाट साभार

