
कार्तिक ४, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न पार्टीका दुई अध्यक्षले चार बुँदे सहमति गरेका छन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफलमा सहमति जुटेको हो।
दुई अध्यक्षको बिचमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति जुटेको छ।
आजको भेटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा शाहले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने विषयमा सहमति भएको प्रेस सल्लाहकार थापाले प्रष्ट पारेका छन्।
यस्ताे छ सहमति
१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने।
२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने।
३. मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने, र
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यद्यपि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा `जुगल´ ले भने दुई अध्यक्षबीच कर्णालीको बिषयमा छलफल भएको तर कुनै सहमति भइ नसकेको बताएका छन् ।

