रास्वपालाई कांग्रेस सांसदको प्रश्न- एउटी आमाको प्रशव पीडालाई राजनीतिक षडयन्त्र देख्ने कस्तो राजनीति हो ?

  ।   १ आश्विन २०८३, बिहीबार १८:१६

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद उर्मिला थपलिया (सीता)ले एउटी महिलाको प्रशव पीडामा राजनीतिक षडयन्त्र नदेख्न सुझाव दिएकी छन् ।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको ढोकामा बबिताकुमारी पासवानले बच्चा जन्माउनुपर्ने अवस्था आएपछि रास्वपाका केही नेताहरूले सरकारविरुद्ध षडयन्त्र भएको हुनसक्ने अभिव्यक्ति दिइरहेको प्रति असन्तुष्टि जनाउँदै सांसद थपलियाले उक्त सुझाव दिएकी हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद थपलियाले नयाँ भनेर आएको राजनीतिक नेतृत्वले हरेक क्षेत्रमा नयाँ मानक स्थापना गर्नुपर्ने तर हरेक कुरामा षडयन्त्र देख्न नहुने बताएकी हुन् । ‘एउटी आमा प्रशव पीडामा सडकमा बच्चा जन्माउन बाध्य हुनु विडम्बना हो । यसमा राजनीति हुनु हुँदैन । राजनीतिमा विचार फरक हुन सक्छ,’ उनले भनिन्, ‘सरकार र प्रतिपक्षबीच आरोप प्रत्यारोप पनि हुन सक्छ तर एउटी आमाको प्रशव पीडालाई पनि राजनीतिक षडयन्त्र देख्न थाल्यौँ भने हामी कस्तो राजनीति गरिरहेका छौँ ?’

अस्पतालले बिरामी नागरिक आइपुग्दा पैसा नखोजी उपचार गर्नुपर्ने थपलियाको भनाइ थियो । उनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीलाई पनि प्रश्न गरिन्, ‘अस्पताललाई कडा कारबाही हुन्छ कि हुँदैन ? पीडित परिवारले न्याय पाउँछ कि पाउँदैन ?’ यस्ता घटना दोहोरिन नदिनका लागि सरकारले कस्ता कदम चालिरहेको छ भनेर पनि उनले सोधेकी छन् ।

त्यस्तै, सांसद थपलियाले सरकार गठन भएसँगै सार्वजनिक गरिएको १०० बुँदे संकल्प कहाँ पुग्यो भनेर पनि प्रश्न गरेकी छन् । ती संकल्प कति कार्यान्वयन भए कति भएनन् भन्ने स्पष्ट पार्नुपर्ने उनको माग थियो ।

मन्त्रीहरूका अभिव्यक्तिको पनि सांसद थपलियाले प्रश्न उठाएकी छन् । ‘मन्त्रीहरूका कुरा सुन्दा कहिले काहिँ अचम्म लाग्छ । कोही मन्त्री खुट्टा भाँच्ने कुरा गर्छन, कोही मन्त्री पाता फर्काउने कुरा गर्छन् तर अहिले पनि नागरिकले रित्तो सिलिन्डर काँधमा बोकेर ग्यासको लाइनमा बस्न कुदिरहेका छन् । न सरकारले नागरिकलाई ग्यास दिन सक्यो, न सरकारले बजारको महंगी नियन्त्रण गर्न सक्यो,’ उनले भनिन् ।

पुराना राजनीतिक दलका नेताहरूको आलोचना गरेर मात्रै नयाँ राजनीतिक मान्यता स्थापित नहुने पनि सांसद थपलियाले सुझाव दिएकी छन् । ‘पुराना दललाई गाली मात्र गरेर यो देश बन्छ भने गाली मात्रै गर्नुस्, हामी सुन्न तयार छौँ । तर देश बन्नु पर्छ । अरुलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ तर तपाईहरूलाई प्रश्न गर्दा प्रतिशोध हुने ?,’ उनले सोधिन्, ‘तपाईहरू कस्तो राजनीतिक संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ ?’

कान्तिपुर बाट साभार

Next Post

बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले तत्काल ५ लाख र ६ महिनासम्म आधा तलब दिने

१ आश्विन २०८३, बिहीबार १८:१६
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका नेपाल विद्युत प्राधिकरणले तात्कालीन राहत प्याकेजको घोषणा गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारीरकामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार […]