सभामुखसँग प्रहरी नेतृत्वको गुनासो : सांसदबाटै मनोबल गिराउने काम भयो

  ।   १ आश्विन २०८३, बिहीबार १८:०९

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी उच्च अधिकृतहरुसहित लिएर सभामुख डीपी अर्यालसँग भेट गरेका छन् । सभामुखको कार्यकक्षमा शुक्रबार दिउँसो भएको भेटमा कार्कीसहितका उच्च अधिकृतहरुले सांसदहरुबाटै प्रहरीको मनोबल गिराउने काम भएको भन्दै गुनासो गरेका छन् ।

‘पछिल्लो समयमा संसद् र संसदीय समितिमा जुन रुपमा प्रहरीबारे अभिव्यक्ति आइरहेका छन्, त्यसले मनोबल गिराउने काम गरेको विषयमा असन्तुष्टि राख्यौं,’ भेटमा सहभागी एक उच्च अधिकृतले भने, ‘सम्बन्धित निकायले अनुसन्धान र छानबिन गर्ने प्रक्रियामा कुनै समस्या छैन, संसद्प्रति उत्तरदायित्वको कुरामा पनि फरक भएन । तर, आईजीपी भनेको संस्था पनि हुने भएकाले शिष्टाचार र मर्यादाको कुरा पनि ख्याल गरिदिनुपर्ने विषयमा कुरा राख्यौं ।’

आईजीपीलाई आरोप लगाएकोबारे गृहमन्त्री गुरुङले भने- ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन’

जेन-जी आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि बारम्बार प्रहार हुँदा तल्लो तहसम्मै समस्या देखिनसक्ने अधिकृतले बताएका थिए । ‘यदि यस्तै भइरहने हो भने भोलिका दिन त्यसले शान्ति, सुरक्षाको काममा समेत प्रत्यक्ष असर पार्छ भन्ने विषय पनि राखियो,’ ती अधिकृतले भने ।

जवाफमा सभामुख अर्यालले प्रहरी नेतृत्वले राखेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यसबारे पहिल्यैदेखि चासो राखेको उल्लेख गरेका थिए । ‘तपाईंहरु भेट्न पनि आउनु भयो, राम्रो कुरा हो । तर, त्यसअघिबाटै के भएको हो भनेर यो विषयमा मैले आफैं बुझिरहेको थिएँ,’ सभामुख अर्यालले भनेका थिए ।

लेखा समितिमा रास्वपा सांसद र आईजीपीबीच नोकझोक : सभामुख र रास्वपा सभापतिको चासो

विशेषगरी संसदीय समितिमा सत्तारुढ रास्वपा सांसद् खगेन्द्र सुनारले व्यक्त गरेको अभिव्यक्तिप्रति प्रहरी नेतृत्वको असन्तुष्टि छ । शुक्रबार गृहमन्त्री सुधन गुरुङले समेत एउटा उजुरीका भरमा न्यायाधीश नबन्न सांसदहरुलाई सुझाव दिएका थिए ।

यसबीच, शुक्रबार नै नेपाल पूर्वप्रहरी संगठन, पूर्वप्रहरी कर्मचारी परिषद्, पूर्वसशस्त्र प्रहरी संघ र सुरक्षा र न्याय अध्ययन केन्द्रले सांसद् सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । चारैवटा निकायले संयुक्त विज्ञप्ति जारी गर्दै ‘सुनारको अभिव्यक्तिको भाषा, प्रस्तुति र आशयले संसदीय मर्यादा, पदीय गरिमा, संस्थागत शिष्टाचार तथा व्यावसायिक आचरणको अपेक्षित सीमालाई अतिक्रण गरेको’ भनेको छ ।

Next Post

रास्वपालाई कांग्रेस सांसदको प्रश्न- एउटी आमाको प्रशव पीडालाई राजनीतिक षडयन्त्र देख्ने कस्तो राजनीति हो ?

१ आश्विन २०८३, बिहीबार १८:०९
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद उर्मिला थपलिया (सीता)ले एउटी महिलाको प्रशव पीडामा राजनीतिक षडयन्त्र नदेख्न सुझाव दिएकी छन् । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको ढोकामा बबिताकुमारी पासवानले बच्चा जन्माउनुपर्ने अवस्था आएपछि रास्वपाका केही नेताहरूले सरकारविरुद्ध षडयन्त्र भएको हुनसक्ने अभिव्यक्ति दिइरहेको प्रति असन्तुष्टि जनाउँदै सांसद थपलियाले उक्त सुझाव दिएकी […]