कैलालीका दुई डिभिजन वन कार्यालयमा अख्तियारको एकसाथ छापा

  ।   ५ श्रावण २०८३, मंगलवार २१:१०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका बन डिभिजन कार्यालय धनगढी र पहलमानपुरमा एकसाथ छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार कैलालीका ११ सामुदायिक वनमा अनियमित तथा अवैध रूपमा हरिया खयरका रुख कटान गरी काठ बिक्री गर्न अनुमति दिएको भन्ने उजुरीका आधारमा दुवै कार्यालयमा छापा मारिएको हो।
उनका अनुसार अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको छ भने उजुरी माथि थप अनुसन्धान अघि बढाइएको हो ।

उजुरीअनुसार डिभिजन वन कार्यालय धनगढीअन्तर्गतको बाह्रवन साझेदारी वन उपभोक्ता समितिबाट १ लाख ८६ हजार क्युफिट र केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिबाट ३६ हजार क्युफिट गरी कुल २ लाख २२ हजार क्युफिट काठ बिक्री गर्ने तयारी गरिएको उल्लेख छ।

यस्तै, डिभिजन वन कार्यालय पहलमानपुरअन्तर्गत छत्युन सामुदायिक वनबाट १८ हजार, मोहन्यालबाट १२ हजार, जगतपुरबाट ७ हजार, साडेपानीबाट ७ हजार, मैनापोखरीबाट २३ हजार, शिवशक्तिबाट ८७ हजार, गतिशीलबाट १२ हजार, जनताबाट १८ हजार र घोडाघोडीबाट १९ हजार क्युफिट गरी कुल १ लाख २३ हजार क्युफिट काठ बिक्री गर्न अनुमति दिइएको भन्दै उजुरी परेको छ।

उजुरीमा कैलालीका ११ वटा सामुदायिक वनबाट जम्मा ३ लाख ४५ हजार क्युफिट काठ अवैध तरिकाले बिक्री–वितरण गर्न अनुमति दिइएको आरोप लगाइएको छ। अख्तियारले सोही विषयमा आवश्यक प्रमाण संकलन गर्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

 

Next Post

प्रदेशमार्फत सत्ता सहयात्रामा फर्कँदै दुई वाम दल

५ श्रावण २०८३, मंगलवार २१:१०
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भएको भेटपछि दुई दलले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय लिएका छन् । सहकार्य भत्केको दुइ वर्ष पछि नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशहरूमार्फत सत्ता सहयात्रामा फर्कने भएका भएका हुन् । […]