एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भएको भेटपछि दुई दलले प्रदेशहरूमा मिलेर सरकार चलाउने निर्णय लिएका छन् । सहकार्य भत्केको दुइ वर्ष पछि नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशहरूमार्फत सत्ता सहयात्रामा फर्कने भएका भएका हुन् ।
नेकपा संयोजक दाहालले एमाले अध्यक्ष ओलीसँग भेट गरेलगत्तै नेकपा कोशीका दुई नेता पूर्वमुख्यमन्त्री राजेन्द्र राई र नेकपा कोशी संसदीय दलका नेता इन्द्र आङ्बोसँग केही बेर कुराकानी गरेका थिए। त्यस क्रममा दाहालले अब प्रदेशमा एमालेसँग सहकार्य हुने अवस्था आएको बताएका थिए ।
प्रचण्डसँग भेट गरेका पूर्वमुख्यमन्त्री राईले पनि अब एमालेसँग मिलेर सरकार बनाउने दिशामा कोर्स अघि बढेको बताए। राई र आङ्बोका अनुसार नेकपाले कांग्रेससहित तीन दल मिलेर प्रदेशमा सरकार चलाउन जोड गरेको तर कांग्रेस नमानेको बताए।
‘अहिले पनि प्रदेशमा सहकार्य गरौं भन्नेमा कांग्रेसलाई नेकपाको आग्रह रहेको कुरा संयोजकको छ,’ आङ्बोले भने, ‘तर कांग्रेस नमान्ने बरू विपक्षमा बस्ने भएपछि हामीले एमालेसँग मिलेर प्रदेशसभा जोगाउनुको विकल्प छैन भन्ने संयोजकको कुरा छ उनले भने ।’
एमाले र कांग्रेस मिलेर प्रदेश सरकारहरू चलाइरहेका बेला एक सातायता प्रदेशमा ती दुई दलको सहकार्य टुट्ने अवस्था आएको छ। यस अनुसार सुदूरपश्चिम र कर्णालीमा दुई दलको सहकार्य व्यवहारिक रूपमा टुंगिसकेको छ। यसको असर अन्यत्र पनि देखिन थालेको हो ।
कांग्रेस सभापति गगन थापा र नेकपा संयोजक दाहालबीच भेट भएपछि यी दुई दल मिलेर प्रदेशमा सरकार चलाउने तयारी सुरू भएको थियो। यद्यपि नेकपा र एमाले भने तीनवटै दल मिलेर प्रदेशमा सहकार्य गर्नुपर्ने अडानमा थिए। कांग्रेस सभापति थापाले तीन दल मिलेर प्रदेशमा सरकार बनाउनुभन्दा कांग्रेस विपक्षमा बस्ने बताउँदै आएका छन्। श्रीलंकाको भ्रमण सकेर नेपाल फर्केका दाहालले ओलीसँग मंगलबार भेट गरेका हुन् .
‘
