रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ मध्यपहाडी लोकमार्ग अन्तर्गत एकान्त मोडमा भे १ ज १४८२ नम्बरको ‘इलेक्टिक भेइकल’ (ईभी) गाडीको ठक्करबाट गम्भीर घाइते भएका आमा छोरीको उपचारको क्रममा ज्यान गएको छ ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ४ की २६ वर्षीया स्वस्तिका पौडेलका श्रीमान् घनश्याम ज्ञवाली रुकुम पश्चिम खलङ्गामा ‘बैंकर’का रूपमा कार्यरत छन् । घनश्यामलाई भेट्न स्वस्तिका दुई वर्षीया छोरी सान्दिकालाई लिएर केही दिनअघि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट पुगेकी थिइन् ।
दुई/चार दिनको बसाइपछि उनी आइतबार आफ्नो माइती घर सुर्खेत फर्किने क्रममा बिहान आमाछोरी मुसिकोटबाट कर्णाली प्रदेश ०२००१ ख १०७० नम्बरको यात्रुवाहक फोर्स गाडीमा सुर्खेततर्फ लागे ।
बिहान साढे ८ बजेतिरको समयमा मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ एकान्त मोडमा पुगेपछि छोरी सान्दिकाले शौच गर्ने बताइन् । त्यसपछि स्वस्तिकाले चालकलाई गाडी रोक्न आग्रह गरिन् ।
चालकले गाडी रोकेपछि छोरीलाई दिसापिसाब गराएर बाटो काट्ने क्रममा उनीहरू दुवै जनालाई तीव्र गतिमा आएको अर्को गाडीले ठक्कर दियो ।
सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको ‘इलेक्टिक भेइकल’ (ईभी) गाडीको ठक्करबाट आमाछोरी गम्भीर घाइते भए ।गम्भीर घाइते आमाछोरीलाई उपचारका लागि रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा
भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब (एसपी) उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
घनश्याम रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गास्थित लक्ष्मी सन्राइज बैंकमा केही वर्षदेखि कार्यरत छन् ।
रूरूक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीले श्रीमान्लाई भेट्न पुगेकी स्वस्तिका र उनकी छोरीको दुर्घटनामा मृत्यु भएको जानकारीमा आएको बताए । ‘दुर्घटनाले गाउँ शोकमा डुबेको छ, खलङ्गाबाट सुर्खेततर्फ जाने क्रममा दुर्घटनामा परेर आमाछोरी निधन भएको खबर आएको छ,’ अध्यक्ष ज्ञवालीले भने ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सिम्लीबाट प्रहरी नायब निरीक्षक नरबहादुर विष्टको कमान्डमा ४ जनाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले गम्भीर अवस्थामा रहेका आमाछोरीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सल्ले पुर्याएको थियो । सल्ले अस्पतालमा उपचारका क्रममा बिहान साढे ९ बजेतिर आमाछोरीलाई चिकित्सकले मृत घोषणा गरेका डीएसपी बेदबहादुर पौडेलले बताए ।
ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका ३ चौखेका २२ वर्षीय अम्मर बिकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
