संघीय संसदको बजेट अधिवेशन आजदेखी सुरु हुँदै

  ।   २४ बैशाख २०८०, आईतवार ०७:४७

२४ वैशाख, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ । यस अधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सदनको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र र पछिल्लोपटक नयाँ मन्त्री नियुक्तसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले मुलुकी संहितासम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने विषय पनि सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।

Next Post

यस्तो छ आजको मौसम

२४ बैशाख २०८०, आईतवार ०७:४७
बैशाख-२४, काठमाडौ । हाल देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ। पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही […]