सानो स्कोर बनाए पनि कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
१ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा १ सय १३ रनमा अलआउट भयो । दुई सिजनअघिको विजेता जनकपुरले अन्तिम ६ विकेट केवल १९ रनका लागि गुमाएको थियो ।
देब्रेहाते स्पिनर युनिस विक्रमसिंह ठकुरीले ३ विकेट लिँदै खेल पल्टाएका थिए । उनले १४ औं ओभरमा जनकपुरका कप्तान हरमित सिंहलाई १९ रनमा कट एन्ड बोल्ड गरेका थिए । १६ औं ओभरमा उनले अर्को निर्णायकजस्तै बलिङ गरे । सो ओभरमा उनले लगातार बलमा जिम्मी निसम र आदित्य महतालाई आउट गरेपछि जनकपुरको नियन्त्रणमा रहेको खेल कर्णालीले खोसेको थियो ।
माथिल्लो क्रमका तृतराज दास १, मयन यादव १४, अनिल साह ११ र कुशल पेरेरा ६ रनमा आउट भए । तल्लो क्रममा ब्याटिङ गरेका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । उनले १७ बल खेली २ छक्का प्रहार गरे । ललित राजवंशी १ रनमा बोल्ड भए .
कर्णालीबाट युनिस र पाकिस्तानी खेलाडी हुसैन तलातले ३–३ विकेट लिए । युनिसले ४ ओभरमा १ मेडन राख्दै २२ र तलातले ४ ओभरमा २६ रन खर्चे । नन्दन यादवले २.३ ओभरमा १३ रन खर्चेर २ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सकेको थियो ।
ओपनर मार्क वाटलाई १ रनमै गुमाएको कर्णालीबाट अर्का ओपनर आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बल खेली ४ छक्का प्रहार गरे ।
दीपक डुम्रे २ छक्का प्रहार गर्दै १३, तलात ३, अकबर अली १, गुलशन झा १२ र सोमपाल १ रनमा आउट भए । पवन सर्राफले ३७ बल खेली ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । नन्दन १० रनमा आउट भए ।
जनकपुरबाट पहिलो पटक खेलिरहेका कप्तान हरमितले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चे । मोइन अली र राहुल यादवले २–२ तथा ललित राजवंशीले १ विकेट लिए ।


