बाँकेको कोहलपुरमा एक होटलबाट अनलाइन सट्टेबाजीमा संलग्न ४८ जना पक्राउ

  ।   ८ आश्विन २०८३, बिहीबार ०९:५९

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा जिल्ला प्रहरी कार्यालय बाँकेले अनलाइन सट्टेबाजीमा संलग्नलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको छापाका क्रममा मंगलबार राति करिब ४२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा करिब ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन् ।

उनीहरूमाथि अनलाइन बेट गेममार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले होटल म्याक्सलाई समेत सिल गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर रमेश विष्टको नेतृत्वमा रहेको टोलीले होटलमा छापा मार्दा उनीहरूले प्रयोग गर्ने ल्यापटपलगायतका सामग्रीहरू फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतित सिंह राठोरले विशेष सूचनाका आधारमा होटलमा छापा मारिएको र करिब ४२ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

बाँके प्रहरीले होटलबाट सुरुमा ४० जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक गरी ४२ जना पक्राउ परेका थियो । प्रहरीले छापा मार्ने क्रममा त्यहाँबाट भागेर कोठामा लुकेका थप ६ जनालाई बाँके प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएपछि पक्राउ पर्नेको संख्या ४८ पुगेको प्रहरीले जनाएको छ ।

छापाका क्रममा प्रहरीले २८ थान ल्यापटप र ७८ थान मोबाइल फोनसहित विभिन्न विद्युतीय उपकरण बरामद गरेको छ । बरामद उपकरणमा रहेको डाटा परीक्षणपछि गिरोहले अहिलेसम्म गरेको कारोबार, रकमको विवरण, सम्पर्कमा रहेका व्यक्ति तथा उनीहरूको नेटवर्कबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ ।

बरामद उपकरणको डाटा रिकभर तथा विश्लेषणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक बजगाईँसहितको आईटी एक्सपर्ट टोलीले काम सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले गिरोहको कनेक्सन कहाँ–कहाँसम्म रहेको छ भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ । काठमाडौंमा भएको कारबाहीसँग यसको सम्बन्ध छ कि छैन भन्ने विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकाहरू प्रारम्भिक अनुसन्धानमा अनलाइन सट्टेबाजीसँग जोडिएको देखिएका छन् ।

प्रहरीले बरामद गरेको मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरणको प्राविधिक परीक्षणपछि गिरोहले कति रकमको कारोबार गरेको थियो र यसको नेटवर्क कहाँसम्म फैलिएको थियो भन्ने विषय थप खुल्ने जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।