पाल्पा रिब्दीकोट गाउँपालिका-६ धुस्टुङमा पहिरोले घर पुरिदा शुक्रबार एक महिला बेपत्ता भएकी छन्।
बेपत्ता हुनेमा ५९ वर्षीया कृष्णकुमारी सारू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
बिहीवारदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले दिउँसो पौने तीन बजे दुइवटा घर पुरिएका छन्।
धुस्टुङ गोलफान बस्ने केसुराम सारू मगरको ढुङ्गा माटोले बनेको जस्ताले छाएको तीनतले कच्ची घर, रामबहादुर उचैको ढुङ्गा माटोले बनेको जस्ताले छाएको तीनतले घर पहिरोले पुरेको उनले बताए। घरमा पूर्णरूपमा क्षति पुगेको छ।
निरन्तर वर्षा भइरहेको हुँदा उद्धारमा कठिनाइ भइरहेको छ। घरभन्दा माथि मोटरबाटोबाट ढुङ्गा र माटो सहितको लेदो बगिरहेको हुँदा तत्काल उद्धार गर्न नसकिएको भट्टराईले बताए।
