पलाता अस्पतालमा तोडफोड, चिकित्सकसहित ६ जना कुटिए

  ।   २३ श्रावण २०८३, शनिबार १०:२६

कालीकोटको पलाता गाउँपालिका–९ थिर्पूस्थित पलाता अस्पतालमा कार्यरत चिकित्सकसहित ६ जनालाई स्थानीयले कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ। शुक्रबार दिउँसो दुई बालकले अस्पताल परिसरमा भिडियो गेम खेलेर बिरामीलाई डिस्टर्ब भएपछि सम्झाउने क्रममा विवाद भएको र त्यसले उग्र रूप लिँदा चिकित्सकसहित तीन जना कुटिएका थिए। राति सोही समूहले अस्पतालमा तोडफोड गर्दै थप तीन जनामाथि आक्रमण गरेको अस्पताल व्यवस्थापक जन्मऋषि न्यौपानेले बताए।

उनका अनुसार दिउँसो अस्पतालमा कार्यरत डा. अलि हैदर राईन, स्टाफ नर्स शान्ता गिरी र सुरक्षा गार्ड गजेन्द्र बम कुटिएका थिए। राति सोही समूहले अस्पतालमा तोडफोड गर्दै अनमी उषा शाही, अहेव विष्णु रोकाया र सुरक्षा गार्ड दर्न दमाईमाथि आक्रमण गरेको थियो।

‘दिउँसो डाक्टरसहितलाई कुटपिट गरे। राति आएर तीन जनालाई कुटे,’ न्यौपानेले भने, ‘दिउँसोको विषयलाई लिएर राति अस्पतालमाथि आक्रमण गरेर तोडफोड भयो।’ उनका अनुसार प्रहरीले रातभर अस्पताल नियन्त्रणमा लिएर सुरक्षा दिएको थियो।

कालीकोटको दुर्गम मानिने पलाता अस्पतालमा १६ महिनादेखि कार्यरत डा. राईन, स्टाफ नर्स गिरी र सुरक्षा गार्ड बम दिउँसो कुटिएपछि अस्पताल अशान्त रहेको बेला राति पुनः आक्रमण भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताए।

कुटपिट र तोडफोडमा संलग्न पलाता–९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएको डीएसपी खत्रीले बताए। ‘सामान्य विवादले उग्र रूप लिएर कुटपिट र तोडफोड भएको पाइयो,’ उनले भने, ‘थप अनुसन्धान गर्दैछौं।’

सुशीलकुमार र मैनाको घरमा भाडामा बस्दै आएका पलाता अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी एक साताअघि अस्पतालकै क्वाटरमा सरेपछि घरधनी बमले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै अपमानित गर्ने गरेको अस्पताल प्रमुख डा. राईनले बताए।

कुटिएका डा. अलि र स्टाफ नर्स गिरी।

उनका अनुसार अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार स्वास्थ्यकर्मीहरू क्वाटरमा सरेका थिए। ‘त्यही रिसले निहुँ खोजेर कुटपिट गरे,’ उनले भने।

शुक्रबार दिउँसो बाजुराका बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बेला मैना बमका दुई छोराहरू अस्पताल परिसरमा आएर भिडियो गेम खेल्न थालेका थिए। ‘बिरामीलाई डिस्टर्ब हुन्छ, बाबु यता नखेल भनेर गार्डले सम्झाउँदा मानेनन्,’ डा. राईनले भने, ‘मैले पनि बाबुहरू गइहाल भनेपछि आमाले गालीगलौज गर्न थालिन्

उनका अनुसार स्टाफ नर्स गिरीले सम्झाउन खोज्दा उनीमाथि आक्रमण भएको थियो। ‘स्थानीय मैनाले हामीले दिएको जग्गा हो, त्यहीँ खेल भनेर मुख छाडिन्,’ उनले भने, ‘स्टाफ नर्स गिरीले अस्पतालमा डिस्टर्ब गर्न पाइँदैन भनेपछि सुरुमा आमा–छोरा मिलेर उनीमाथि आक्रमण गरे। म छुट्याउन जाँदा ममाथि पनि कुटपिट भयो।’

पलाता अस्पतालमा सामान्य कुरामा विवाद गरेर स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु र अस्पतालको भौतिक संरचना तोडफोड हुनु दुःखद भएको गाउँपालिका अध्यक्ष विष्णुवहादुर रोकायाले बताए।

‘घरबाट अस्पतालको क्वाटरमा सरेको रिस पोख्न बालबालिकालाई अस्पताल परिसरमा डिस्टर्ब गर्न पठाउने गर्थे,’ कुटपिटमा घाइते स्टाफ नर्स गिरीले भनिन्, ‘किन डिस्टर्ब गर्छौ भनेर सम्झाउँदा कुटपिट गरे।’

जिल्ला प्रहरी कार्यालयले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गर्दै इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा खटिएको टोलीले एक नाबालकसहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थल कालीकोट सदरमुकाम मान्मबाट ४८ किलोमिटर टाढा पर्छ।

चिकित्सकसहितका स्वास्थ्यकर्मी कुटपिट गर्नेहरूले आफ्नो घरबाट अस्पतालको क्वाटरमा सरेको विषयलाई निहुँ बनाएर आक्रमण गरेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए। ‘दुर्गममा सेवा गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु स्थानीयको दादागिरी हो,’ उनले भने, ‘अपराध कर्ममा संलग्नलाई कारबाही हुनुपर्छ।’

उनले गत वर्ष पनि थिर्पूका स्थानीयले तत्कालीन जिल्ला अस्पताल प्रमुख डा. संकेत विश्वकर्मामाथि हातपात गरेको बताए।

उनका अनुसार शुक्रबार दिउँसो सवा १ बजे अस्पतालका चिकित्सकसहितको टोली घरधनी मैना बमको घरबाट अस्पतालको क्वाटरमा सरेपछि घरधनी अस्पतालमै आएर निहुँ खोज्दै कुटपिट गरेका हुन्। राति त्यही समूह र मदिरा सेवन गरेका केही अन्य व्यक्तिले अस्पतालमा तोडफोड गरेको उनले बताए।

पलाता अस्पताल प्रमुख डा. अलिले आफ्नो १३ वर्षीय छोरालाई कुटेको स्थानीय सुशीलकुमार बमको दाबी छ। ‘छुट्याउने नाममा बच्चालाई डाक्टरले कुटपिट गरेको हो,’ उनले भने।

कालीकोट जिल्लाभर कार्यरत स्वास्थ्यकर्मीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

कान्तिपुर बाट साभार

Next Post

दैलेखको तल्लो डुंगेश्वरमा ट्रकमुनि मोटरसाइकल र चालक थिचिए

२३ श्रावण २०८३, शनिबार १०:२६
कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुंगेश्वरस्थित पुलमा ब्रेक फेल भएको एक ट्रकले मोटरसाइकललाई किच्दा दुर्घटना भएको छ।सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकको ब्रेक फेल भई पुल क्रस गर्दै गरेको भे १४ प ६७१४ नम्बरकाे मोटरसाइकललाई च्यापेको हो ।   दुर्घटनामा परेर मोटरसाइकल र त्यसका चालक दुवै ट्रकमुनि […]