जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको चारसय वर्ष पुरानो विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् । पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको महसुस गरेका छन् ।
स्थानीयवासीहरुका अनुसार उक्त रुख चारसय वर्ष पुरानो भएको अनुमान गरिएको छ । योगी नरहरिनाथको भनाइ अनुसार पाण्डवकालदेखि नै यो रूख अस्तित्वमा रहेको भन्ने जनविश्वास रहेको छ । यसको वैज्ञानिक पुष्टि भने हालसम्म कतै भएको भने छैन । स्थानीय बासिन्दाका अनुसार धार्मिक आस्थाको प्रतीक मानिँदै आएको उक्त देवदार यही साउन १७ गते आइतबार ढलेको हो । देवदार बलियो र दीर्घायु काठमध्ये एक हो । कर्णालीको धेरै स्थानमा पाइने देबदार लाइ स्थानीय भाषामा यसलाई ‘द्यार’ भनिन्छ । विसं २०३२ मा रूखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दै जरा कुहिएको र त्यसकै कारण अहिले ढलेको हुनसक्ने अनुमान गरियको छ ।
देवदारको आयु चार हजार वर्षसम्म हुने विश्वास रहेको छ ‘एक हजार वर्ष बढ्न, एक हजार वर्ष उभिन, एक हजार वर्ष ढल्न र अर्को एक हजार वर्ष कुहिन समय लाग्छ’, भन्ने पुरानो भनाइ सुनाउँदै देवदारलाई अत्यन्त टिकाउ र बहुउपयोगी काठका रूपमा चिनिने जुम्ला चंदनाथा नगरपालिकाका निर्माण ब्यबसायी तथा समाजसेबी बेद बहादुर शाहीले बताए । स्थानीयवासीका अनुसार करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ भएको उक्त रूख सडकतर्फ ढल्दा टेलिफोन तथा विद्युत्को खम्बा र धानबालीमा सामान्य क्षति पुगेको र मानवीया क्षति भने नभएको बताए ।
