अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग, पासाङ ल्हामु सडक खण्ड, बेसीसहर-मनाङ सडक, मुगु-गमगढी सडक र गोठालापानी-झुलाघाट सडक खण्ड लगायतका मुख्य सडकहरू अवरुद्ध भएका छन्।
बाढी र पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू क्षतविक्षत पारेको छ। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य सडक खण्डहरूमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ-७ स्थित कृष्णभिर र गजुरी-२ को परेवाभिरमा ठूलो पहिरो खसेका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बेनीघाट रोराङ-१० को ज्वाडु खोला र थाक्रे-२ को कमेरेभिरमा पहिरो पन्छाएर सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ।
बीपी राजमार्गकाे काभ्रेको खुर्कोट-नेपालथोक सडक खण्डमा बाढीको उच्च जोखिम रहेका कारण सुरक्षा सतर्कता अपनाउँदै साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० बजेदेखि साँझ ६:०० बजेसम्म भने अवस्था हेरेर मात्र सवारी चल्न दिइएको छ।

