नुवाकोटको ढुंगेकी लक्ष्मी पाण्डेको परिवारले घर नजिकै पसल सञ्चालन गर्दै आएका थिए। भदौ १० गते बुधबारको विहान अरु दिनभन्दा फरक थिएन ।
४२ वर्षकी लक्ष्मी पाण्डे उनका श्रीमान प्रकाश, ११ वर्षकी छोरी प्रदीशा सासु भक्तकुमारी र ससुरा छत्रबहादुर घरमै थिए छिमेकी कृष्ण पनि आइपुगेका थिए । छोरा प्रयान करिव १५ मिनेट अगाडि स्कुल गइसकेका थिए । प्रदिशा भने हजुरआमासँग स्कुल जाने तयारीमा थिइन् त्यही बेला अचानक बाहिर मानिसहरु कराएको सुनियो । बाढी आयो, बाढी
लक्ष्मीले सुरुमा सासुलाई बाहिर जान आग्रह गरिन् । तर बाढी यति आइसकेको थियो कि बाहिर जानु झन खतरनाक भयो । त्यसैले लक्ष्मी र उनको श्रीमान प्रकाशले आमालाई बाहिर जान रोकिन् । त्यसैले परिवारका सबै घरभित्रै बसे । नदीमा पानी बढ्दै गयो ।घर डुब्दै गयो ।तेस्रो तलासम्म डुब्यो । घरमा भएका सबै चौथो तलाको बार्दलीमा जम्मा भए । अब तल झर्ने सम्भावना थिएन वरिपरि, त्रिशुली उर्लिएको थियो । वरपर त्रिशुलीले घरहरु ढाल्दै थियो । केही नराखेर बढारेर लैँजादै थियो । उनीहरु फसेको घरका अघि बगेर आएका गाडी र अनेकन सरसामान थुप्रिँदै थियो । लेदो बाढीले घर पुरिनसक्ने जोखिम बढ्दै थियो ।
घरभित्र फसेकाहरु बार्दलीमा आएर आफ्नो घर र सुरक्षित रहेर माथिबाट चिच्याइरहेका परिवारका सदस्य र छिमेकहीहरुलाई हेर्दै थिए । सबै निरुपाय थिए । बाढीको बेग यस्तो थियो कि त्यहाँ गर्न सकिने केही थिएन । तर, अरु घरहरु बाढीले बढारिरँदा यो घर भने कसो कसो जोगिँदै थियो ।
त्रिशुली नदी झन्–झन् गडगडाइरहेको थियो । गेग्रान मात्र होइन, ठूलठूलो ढुंगा समेत बगाएर ल्याएको थियो । त्यसैले घर हल्लिएको जस्तो हुन्थ्यो । शक्तिशाली भूकम्प गएको भन्दा कम थिएन । वरिपरिका घरहरु एकपछि अर्को बाढीमा बिलाइरहेको थियो । यो घर पनि कतिबेला ढल्ने हो, कुनै टुंगो थिएन । त्यसैले उनीहरुलाई पनि लाग्यो, अब यही अन्तिम हो । लक्ष्मीले आफन्तलाई फोन लगाउने कोसिस गरिन् । शायद अन्तिक पटक कुराकानी हुनसक्छ कि ।तर फोनमा सिग्नल कमजोर थियो । उनले बोलेको कुरा आफन्तले राम्रोसँग सुन्नै सकेनन् ।
त्यो बेला लक्ष्मीले परिवारका सदस्यहरुलाई भनिन्, यदि मर्नुपर्यो भने सँगै मरौंला । तर उनीहरुलाई सबभन्दा ठूलो चिन्ता थियो, प्रयानको ।
उनी कहाँ होलान् ? कुन अवस्थामा होलान् लक्ष्मीका अनुसार उनीहरुले प्रयानलाई बचाइदिन भगवानसँग धेरै प्रार्थना गरे । प्रयान सुरक्षित ठाउँमा थिए । उनको स्कुल बाढी प्रभावित क्षेत्रभन्दा बाहिर थियो । तर परिवारलाई त्यो कुरा थाहा थिएन ।
एक घन्टा भइसक्यो । त्रिशुलीमा पानी कम भएन । बाहिर पानीको बेग घट्ने कुनै संकेत थिएन । घर वरिपरिका संरचनाहरु एकपछि अर्को हराउँदै थिए ।
लक्ष्मी र उनको परिवार त्यही माथिल्लो तलामा बसिरहे ।उद्दारका लागि कोही आउँछन् कि आउँदैनन्, केही थाहा थिएन ।
करिव २ घन्टापछि बाढी घट्न थाल्यो । त्यो उनीहरुका लागि आशाको पहिलो संकेत थियो ।तर आफैं घरबाट बाहिर आउने अवस्था थिएन ।
केही क्षणपछि छिमेकीहरु आए । आकाशमा सेनाका हेलिकोप्टर दैडिरहेको थियो । छिमेकीहरुले छतमा गएर रातो कपडा हल्लााएर संकेत गर्न सिकाए ।
केहीबेर त्यो प्रयत्न गरे पनि उद्धारका लागि सेना आएनन् । त्यसपछि छिमेकीहरुले नकुर्ने निर्णय लिए । यो घरको किचन रहेको भाग फुटेको थियो । त्यही भागबाट उनीहरुलाई बाहिर निकाल्न सुक्षित हुने देखियो । भर्याङ ल्याए । पाइप र डोरीको सहायताले उनीहरुलाई एकएक गर्दै घरबाट बाहिर निकाले उद्धारको समयमा सशस्त्र प्रहरी पनि आइपुग्यो । लक्ष्मी, उनका श्रीमान, छोरी, सासु, ससुरा, उनीहरुकै घरमा फसेका छिमेकी सबै बाहिर निस्किए । यो त्रासदी अझै सकिएको थिएन । आफूहरु त जसो त बाँचियो, लक्ष्मीको चिन्ता हटेको थिएन । छोरा प्रयान कहाँ होला ? कस्तो हालतमा होला भन्ने चिन्ताले सताइरह्यो । फर्किएपछि थाहा भयो, छेरा पनि सुकुशल छ । आमा छोराको भेट भयो । बाहिर बाढीले उनीहरुको संसार मेटिसकेको थियो । तर, परिवार जीवित थियो । त्यो दिन त्रिशुलीले उनीहरुको घर वरिपरिको धेरै कुरा बगायो ।तर, परिवार जोगिएको छ ।
लक्ष्मी भन्छिन्, हामीले नयाँ जीवन पायौं । सबैले चमत्कार भन्छन् । हामीलाई पनि थाहा छैन, हामी बसरी बच्यौं । बाढी आएको क्षणको भिडियोहरु हेर्दा बच्यौं भन्ने विश्वास नै लाग्दैन । बाढीको समयममा सायदै कसैले उनीहरुलाई सकशुल निकाल्न सकिएला भन्ने सोचेका थिए । तर, एक हिसाबले चम्कार जस्तै भयो ।
घर बाढीका बीचमा पनि ढलेन । जसका कारण उनीहरुको ज्यान जोगियो ।
अहिले यत्रो बढीमा पनि घर र यो भित्र फसेका मान्छे कसरी जोगिए भनेर सामाजिक सञ्जामा धेरैले चर्चा गर्दैछन् । यो घरको नदीको भागतर्फक पिल्लर भाँचिएका छन् । घर बस्न योग्य अवस्थमा छैन । धेरैले ढुगे बजर पुग्दा यो घरबारे चासो राख्दैछन् । अन्तर्राष्ट्रिय मिडियाले समेत यो घरमा फसेका मान्छेहरु कसरी जोगिए भनेर मिडिया रिपोर्ट बनाएका छन् । अन्तर्राष्ट्रिय रुपमै यसको चर्चा भएको छ । स्थानीय अनुसार बाढी धेरै माथि आएकाले यो घर बाढीमा परेका हो । गत वर्ष भोटेकोशीमा बाढी आउँदा पनि यो घरभन्दा पछाडि कुनै क्षति भएको थिएन । बस्तीलाई खेलाबाट जोगाउन बलिया पर्खालहरु बनाइएको थियो । तर, यो वर्ष बाढीले पर्खाल मात्रै नाघेन, मान्छेका घरहरु नै नाघ्यो । त्रिशुली बजारको पुरानो पुल लगे लगत्तै ढुंगेको नयाँ पुल लग्यो । नयाँ पुलको आडैमा भएको यो घर भने कसो कसो जोगियो । घर जोगिँदा एउटा परिवार नै जोगियो । यो एउटा चमत्कार जस्तै भयो । तर, बाढी आएका दिन ज्यान जोखिममा राखेर स्थानीयबासी र सशस्त्र प्हरीले गरेको उद्धारका कारण पनि उनीहरु सकुशल रहन पाए । त्रिशुलीको बाढीमा फसेका धेरैले ज्यान जोगाउन सकेनन् । तर, यो घरमा फसेकाहरुले जसोतसो नयाँ जीवन पाए ।
नेपाल शो बाट साभार

