गृहमन्त्रीमा पुन सुधन गुरुङ, आजै शपथ

  ।   २६ जेष्ठ २०८३, मंगलवार १३:०९

काठमाडौँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त हुने भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

यस अगी गृहमन्त्री भैसकेका गुरुङ व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि गुरुङमाथि दबाब बढेको थियो। चौतर्फी आलोचनापछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी जम्मा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो।

छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो । गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो।

समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्‍याएको छ। प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिदिएको छ।

Next Post

किन उल्टियो एमालेले निर्णय सुदूरपश्चिम एमालेमा मन्त्री हेरफेर

२६ जेष्ठ २०८३, मंगलवार १३:०९
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट हाल मन्त्री रहेका व्यक्तिहरूलाई फिर्ता बोलाएर चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी, सन्तोषकुमारी शर्मा थापा र जानकी ऐरलाई मन्त्री बनाउने निर्णय भइसकेको जानकारी गराए पनि आइतबार देखि सोमबार साँझसम्मको करिब ३६ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको एमाले संसदीय राजनीतिमा नाटकीय र अपत्यारिला घटनाक्रमहरू सार्वजनिक भए। अध्यक्ष ओलीले एमाले […]