पटक पटक चर्चामा आइरहने नेपालको नवलपरासीस्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मीबीच फेरी ‘तनाव’ बढेको छ । बर्सादको समयमा आयको नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद सुरु भएको हो । बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएको स्थानलाई भारतीय पक्षले आइतबार त्यो भत्काई दिए पछी स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
सुस्ता बासीका अनुसार नारायणीको बाढी पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको माटोको तटबन्ध सादा पोसाकमा कोदालो बोकेर आएका भारतीय सुरक्षाकर्मीले भत्काउन सुरु गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । आफ्नो भूमिमा प्रवेश गरेर तटबन्ध भत्काएको भन्दै सुस्ताका बासिन्दाले आक्रोश पोखेका हुन् । भनाभन भएपछि त्यहाँ खटिएका नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाइबुझाइ गरेर विवाद मिलाउने प्रयास गरेका थिए ।
‘एकाएक भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको देखेपछि हामी एकजुट भएर प्रतिकारमा उत्रिएका हौं,’ स्थानीयहरुको भनाइ रहेको छ ‘कोदालो लिएर आएका भारतीयले तटबन्ध भत्काउन थालेपछि विरोध गरेका हौं, त्यही क्रममा तनाव बढेको हो ।’ उहाहरुका अनुसार विवाद सुरु भएपछि सशस्त्र प्रहरीले साम्य बनाएको थियो ।
आफ्नो भूमिमा विदेशी सुरक्षाकर्मीको हस्तक्षेप हेरेर बस्न नसकिने भन्दै स्थानीयहरुले प्रतिवाद गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
