जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा नायब प्राविधिक सहायक पदमा कार्यरत २७ वर्षीया चन्द्रा सिंह एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा कडा पारेको छ । घटनाको सूक्ष्म छानबिनका क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बीसीलाई नियन्त्रणमा लिएको छ ।
साउन १६ गते वीरेन्द्रनगर–८ खजुरा क्षेत्रबाट नियन्त्रणमा लिइएका बीसीमाथि आत्महत्या दुरुत्साहनको कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा नायब प्राविधिक सहायक पदमा कार्यरत चन्द्रा सिंह वीरेन्द्रनगर–७ इत्रामस्थित कार्यालयकै आवास गृहको शौचालयमा अकस्मात् बेहोस अवस्थामा फेला परेकी थिइन् ।
आवास गृहका कर्मचारीहरूले उद्धार गरी उनलाई देउती अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
चन्द्राको अस्वाभाविक र अप्रत्याशित मृत्युपछि उनका श्रीमान् महेश बस्नेतले नासु बीसीविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा एक्सनमा उत्रिएको प्रहरीले प्रारम्भिक प्राविधिक अनुसन्धान गर्दा मृतक चन्द्रा र बीसीबीच सामाजिक सञ्जालमा भएका विभिन्न शंकास्पद कुराकानी तथा संवादहरू फेला पारेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उहाँहरूबीच फेसबुक च्याटमा निरन्तर कुराकानी हुने गरेको र केही गम्भीर तथा शंकास्पद विषयहरू समावेश भएको पाइएको छ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले भने, अहिले हामी घटनाका सम्पूर्ण पाटाहरूलाई सूक्ष्म ढङ्गले केलाइरहेका छौँ । अनुसन्धान सकिएपछि वास्तविक सत्य बाहिर आउनेछ ।
सरकारी सेवामा प्रवेश गरी उज्यालो भविष्यको खोजीमा रहेकी एक होनहार युवा कर्मचारीको यसरी रहस्यमय तरिकाले ज्यान गएपछि एकीकृत कृषि प्रयोगशाला परिवार र उनको आफन्तजन गहिरो शोकमा डुबेका छन् ।
