राधा मताङ्गीको समाज सेवाका दुइ दशक

  ।   ४ असार २०८३, बिहीबार २०:२६

झन्डै दुइ दशक देखि सामाजिक सेवामा लगातार रुपमा लागि रहेकी राधा मताङ्गी नेपालको सामाजिक रूपान्तरण, मानवीय सहायता तथा आधुनिक कृषिको क्षेत्रमा समर्पित नाम हो . भक्तपुर नगरपालिका–१० निवासी मताङ्गी विगत १८ वर्षभन्दा लामो समयदेखि सामाजिक सेवा, विपद् व्यवस्थापन, उद्यमशीलता विकास तथा समुदाय सशक्तीकरणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आईरहनु भएको छ।

योजना निर्माण, प्रभावकारी परियोजना कार्यान्वयन तथा सरकारी र गैरसरकारी निकायहरूसँगको समन्वयमा दक्ष मताङ्गी विशेषगरी सीमान्तकृत समुदायको उत्थान, शिक्षाको प्रवर्द्धन, महिला सशक्तीकरण तथा ग्रामीण अर्थतन्त्रको विकासका लागि परिचित हुनुहुन्छ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवसायिक अध्ययनमा स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएकी मताङ्गी संगठनात्मक नेतृत्व, सुशासन र व्यवस्थापन क्षमताका लागि परिचित हुनुहुन्छ। नेपाली, अङ्ग्रेजी, हिन्दी र नेवारी भाषामा सहज संवाद गर्न सक्ने उहाँ बहुभाषिक व्यक्तित्वका रूपमा समेत चिनिनुहुन्छ।

हाल उहाँ Community Development Center Nepal (CDC Nepal) को अध्यक्षका रूपमा कार्यरत रहँदै संस्थागत नेतृत्व प्रदान गरिरहनुभएको छ। उहाँको नेतृत्वमा संस्थाले शिक्षा, विपद् व्यवस्थापन, युवा सशक्तीकरण तथा सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय कार्यक्रमहरू सञ्चालन गरेको छ।

 

विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालय झोला, न्यानो कपडा, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरणदेखि कला प्रदर्शनी, शैक्षिक जागरण कार्यक्रम तथा ट्राफिक सचेतना अभियानसम्मका विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भएका छन्। यी कार्यक्रमहरूले ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पारेका छन्।

CDC नेपालमा नेतृत्व सम्हाल्नुअघि मताङ्गी सन् २०१८ देखि २०२५ सम्म Volunteer Corps Nepal को संस्थापक उपाध्यक्षका रूपमा सक्रिय रहनुभएको थियो। सो अवधिमा उहाँले गृह मन्त्रालय, सुरक्षा निकाय तथा विभिन्न साझेदार संस्थासँग सहकार्य गर्दै राष्ट्रिय स्तरका उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभयो।

सशस्त्र प्रहरी बलसँगको सहकार्यमा देशभर २४ घण्टाभित्र परिचालन हुन सक्ने स्वयंसेवकहरूको सञ्जाल निर्माण तथा क्षमता अभिवृद्धिमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ। साथै महिला तथा युवालाई कृषि तथा जीविकोपार्जन कार्यक्रमसँग जोड्न विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग सहकार्य गर्नुभएको थियो।

 

सामाजिक सेवासँगै राधा मताङ्गी कृषि क्षेत्रमा पनि सफल उद्यमीको रूपमा स्थापित हुनुहुन्छ। सन् २०११ देखि Evergreen Flora and Agriculture Farm को प्रोप्राइटरका रूपमा कार्यरत उहाँले ७० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा आधुनिक हरितगृह प्रविधि प्रयोग गरी व्यावसायिक कृषि उत्पादन गरिरहनुभएको छ।

जर्बेरा, क्यालेन्डुला, गुलाफजस्ता पुष्पखेतीसँगै गोलभेडा, काउली लगायतका तरकारीहरूको व्यावसायिक उत्पादनमार्फत उहाँले कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुभएको छ।

नेपाल सरकार तथा Asian Development Bank को सहयोगमा उहाँले देशका विभिन्न जिल्लाका एक हजारभन्दा बढी कृषकलाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरी आत्मनिर्भर बन्न सहयोग गर्नुभएको छ। कृषिमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँलाई ‘फ्लोरिकल्चर एन्ड भेजिटेबल क्वीन’ उपाधिबाट सम्मानित गरिएको थियो।

राधा मताङ्गी सामाजिक सेवा, कृषि विकास तथा मानवीय सहायताको क्षेत्रमा पुर्‍याएको योगदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गर्नुभएको छ।

 

सन् २०१९ मा नेपाल सरकारबाट कदरपत्र प्राप्त गर्नुभएकी उहाँलाई सन् २०२१ मा New York City Council बाट सम्मानपत्र तथा ‘कोभिड–१९ हिरो अवार्ड’ प्रदान गरिएको थियो। त्यसैगरी सन् २०२५ मा सशस्त्र प्रहरी बल नेपालबाट प्रशंसापत्र प्राप्त गर्नुभएको थियो।

हालै सन् २०२६ मा उहाँलाई भारतमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा Best NGO Award तथा नेपालमा राष्ट्रिय समाज कल्याण पुरस्कार–२०२५ प्रदान गरिएको छ। यसका अतिरिक्त उहाँले भारत र फिलिपिन्समा आयोजित अन्तर्राष्ट्रिय कृषि तथा सहकारी सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नुभएको छ।

उच्च सञ्चार क्षमता, संकट व्यवस्थापनमा दक्षता, सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा समुदायप्रतिको समर्पण नै राधामताङ्गीको मुख्य पहिचान बनेको छ। सामाजिक रूपान्तरण र समावेशी विकासको यात्रामा उहाँले पुर्‍याउँदै आएको योगदान आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

सीमान्तकृत समुदायको सशक्तीकरण, आधुनिक कृषिको प्रवर्द्धन र मानवीय सेवाप्रतिको समर्पणले मताङ्गी लाई नेपालको सामाजिक विकास क्षेत्रकी एक प्रभावशाली महिला नेतृत्वका रूपमा स्थापित गरेको छ।

Next Post

राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी

४ असार २०८३, बिहीबार २०:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो । तर बैठकका विषयमा पार्टीभित्रै विवाद देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने […]

सम्बन्धित