
फागुन ९, अछाम ।
अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित गोकर्ण प्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएसँगै आम नागरिकलाई सहज सूचना दिन जिल्ला प्रशासन कार्यालय अछाम नामको फेसबुक आइडी सक्रिय रह्यो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत नै जिल्ला प्रशासन कार्यालय अछामले गर्ने काम कार्वाहि, प्रशासन कार्यालय अछामले गरेका कामका साथै महत्वपूर्ण सूचना समेत यो आइडीबाट पाउन थालेपछि सबैको ध्यान केन्द्रित गर्न सफल बनेको जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक आइडी केहि दिन यता भने अन्य विषयले चर्चामा रहेको छ ।
त्यसपछी अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा विश्वराज मरासेनी आएसँगै यो आइडीबाट बिभिन्न व्यक्तिका स्ट्याटस तथा कमेन्टमा जनाइएका प्रतिक्रियाका कारण यो आइडी चर्चामा रहेको हो ।
निरन्तर हिमपात र झरीका कारण नेटवर्क, बिजुली र सडक नहुँदा जनजीवन प्रभावित बनेको र सहजीकरणका
लागी प्रहरी र प्रशाासनसंग सम्पर्क गर्ने विकल्प नहुँदा समस्या भइरहेको बिषयमा पत्रकार मेनुका ढुंगानाको फेसबुक स्ट्याटसमा जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक आइडीबाट `सडक खुलेपछि रमिते हुन जाने, एण्ड नेगेटिभ कमेन्ट जर्नालिष्ट´ भन्दै कमेन्ट उल्लेख भएपछि सामाजिक सञ्जालमा चर्चाका साथै आलोचना भएको थियो ।

तर यो चर्चा सेलाउन नपाउँदै पुनः यो आइडीबाट पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको फेसबुक लाइभमा `लभ यु´ भन्दै कमेन्ट गरिएको विषय सार्वजनिक भएसँगै यो आइडीबारे बिभिन्न टीकाटिप्पणीका साथै आलोचना हुन थालेको छ ।
पत्रकार मेनुका ढुंगानाको फेसबुक स्ट्याटसमा यो अफिसियल आइडीबाट साता दिन अघि अछामका पत्रकार मेनुका ढुंगानाको स्ट्याटसमा सडक खुलेपछि रमिते हुन जाने, एण्ड नेगेटिभ कमेन्ट जर्नालिष्ट भन्दै कमेन्ट उल्लेख भएको बिषयमा सञ्चारकर्मीले बुझ्न टेलिफोन गर्दा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले `कहिले काँहि यस्तो भइहाल्छ´ भन्दै यस बिषयमा गैर जिम्मेवारीपूर्ण प्रतिक्रिया दिएका थिए भने पत्रकार मेनुका ढुङ्गानालाई स्वयम सिडिओ मरासेनीले `मिस्टेकली कमेन्ट भएको´ भन्दै यस बिषयमा नरिसाउन आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट पटक-पटक विवादित कमेन्ट उल्लेख भएसँगै पत्रकार मेनुका ढुङ्गानाले जिल्ला प्रशासन कार्यालय भनेको जिल्लास्थित सबै सरकारी कार्यालयको अभिभावक भए पनि यही कार्यालयको आधिकारिक आइडीबाट विभिन्न पोस्टमा तल्लो स्तरका कमेन्ट आउने गरेको बताउँदै यस्ता कमेन्ट गर्ने जोकोहीलाई प्रशासनले छोड्न नहुनेमा जोड दिएकी छन् ।
सिडिओ आफैँले कमेन्ट गर्नुभएको हो भने पनी मर्यादाको सीमा ननाघ्न पत्रकार ढुङ्गानाले सुझाव दिएकी छन् ।
पछिल्लो समयकी चर्चित गायीका रचना रिमालले यही फेब्रुअरी १३ अर्थात् फागुन १ गते `हजुर मुसुक्कै´ बोलको गीत सार्वजनिक भएकोबारे जानकारी गराउँदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट `लभ यु´ भन्ने कमेन्ट गरिएको छ ।

त्यही कमेन्ट अहिले अछामका अधिकांश युवाहरूले ट्रोल बनाई रहेका छन् । साभार : बान्निगढी टुडे डटकम


