अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूपपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दावी पेस गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।
शाहले बिहीबार प्रदेशसभामा सम्बोधनका क्रममा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पेस गरेका थिए।
प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार प्रदेशसभा सदस्लाई दाबी पेस गर्न सूचना जारी गरेका हुन् । उक्त धाराको व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ । दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।
सत्ता साझेदार नेकपा एमालेले असार ३१ मा समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो । गठबन्धनमा खटपट भएपछि शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटसमेत पारित हुन सकेको थिएन । हाल सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ ।
यसअघि कांग्रेससँग सहकार्यमा रहेको एमालेले नयाँ गठबन्धनमार्फत नेकपासँग सहकार्यमा छ । जसअनुसार सुदूरपश्चिममा एमालेले नेकपाको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छ । नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री दाबीको तयारीमा छन् ।
