गए राति रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नं. ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।
पहिरोमा परी घाइते भएका २ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ भने बेपत्ता भएका ३ जनाको खोजी कार्य अझै जारी रहेको छ।
रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ।
यस्तै पहिरोमा बगेर प्युठानमा फेला परेका मृतकहरूमा थबाङ ५ कोटलबाराकै कुमार पुन मगरका ७ वर्षीय छोरा अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुन कुमारी पुन मगर र ८० वर्षीय बल बहादुर पुन मगर रहेका छन्।
घटनामा सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बुटवल पठाइएको छ। पहिरोमा परी ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिल बहादुर पुन मगर बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी रहेको छ।
