जाजरकोटमा चिट चोराउन विद्यार्थीबाट पैसा उठाइयो

  ।   २६ बैशाख २०८०, मंगलवार १३:११

बैशाख-२६, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ। लक्ष्मी माध्यामिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यामिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई ‘घुस खुवाएर’ चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको हो।

आजबाट सुरु भएको कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको छ। स्रोतका अनुसार जनता माविका २ सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका १ सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले रकम असुल गरिएको छ।

लक्ष्मी प्राप्ती माविका लेखापाल दलबहादुर सिंह र जनता माध्यमिक विद्यालयका लेखापाल दीपेन्द्र आरसीले पैसा लगेको नाम नबताउने सर्तमा एक विद्यार्थीले अन्नपूर्णलाई जानकारी दिए।

विद्यार्थीबाट प्रवेश शुल्क बापत रकम उठाएको र रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले बताए। कक्षा १२ को परीक्षा शुल्क परीक्षा अगाडि नै विद्यार्थीले परीक्षा बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन्। लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन (हिजो) आइतबार विद्यार्थीबाट थप पैसा असुल गरेका हुन्।

थर्पु माध्यामिक विद्यालयका स्टाफ सन्त विकले आफूहरुले विद्यार्थीबाट पैसा लिएको स्वीकार गरे। उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार परीक्षा व्यवस्थापनका लागि विद्यार्थीहरुबाट २ हजार ५ सयका दरले रकम उठाएको बताए। तर विद्यार्थीहरु भने परीक्षामा चिट चोराउन सहज बनाइदिने भन्दै रकम लिएको बताउँछन्।

जनता माविमा परिवेक्षकका रुपमा खटिएका थर्पु माविका प्रअ दिर्घजंग सिंहले आफूहरुले विद्यार्थीबाट पैसा नउठाएको बताए। उनले भने ‘कसैले बाहिर पैसा उठाएको भए थाहा छैन। हाम्रो विद्यालयले वार्षिक शुल्क ५ हजार ३ सय विद्यार्थीहरुबाट लिएको होला। त्यसबाहेक कोही पनि विद्यार्थीहरुबाट रकम लिएका छैनौँ।’ प्रअ र विद्यालयका स्टाफकै कुरा बाझियो। त्यसै विद्यालयका स्टाफ विकका अनुसार व्यवस्थापन समितिको निर्णय अनुसार नै पैसा उठाएको हो। टेलिफोनमा प्रअ सिंहले भने, ‘आफूहरुले विद्यालयको शुल्कबाहेक कुनै पनि रकम उठाएको छैन।’

जनता मावि पिंकका प्रअ लोकेन्द्र सिंहको भने टेलिफोन उठ्न सकेन। लक्ष्मी प्राप्ती माविका प्रअ दिनेशकुमार सिंहले भने, ‘विद्यालय नआउने र शुल्क नदिने विद्यार्थीहरुलाई परीक्षाका बेला रकम उठाएको होला। अरु कोही कसैले रकम उठाएको विषयमा मलाई जानकारी छैन। हाम्रो विद्यालयले परीक्षा शुल्कसहित वर्षका एक जना विद्यार्थीबाट ६ हजार बराबर शुल्क लिदै आएको छ।’

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका रेशम मल्लले परीक्षा व्यवस्थित बनाउने भनेर विद्यार्थीबाट रकम उठाएको गुनासो आएको बताउँदै त्यसो नगर्न निर्देशन दिइएको बताए। उनले भने, ‘यो गुनासो हामीसँग पनि आएको छ। हामीले समन्वय गरेर पैसा नलेउ भनेको हो। तर हामीले समन्वय गर्ने मात्र अधिकार छ। कारबाही गर्ने अधिकार छैन। परीक्षाको समयमा विद्यार्थीबाट रकम असुल्नु गैर कानुनी हो।’

राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतका प्रमूख कृष्णप्रसाद श्रेष्ठले परीक्षाको समयमा विद्यार्थीबाट पैसा उठाउने विद्यालयलाई आवश्यक कारबाही गर्ने बताए। उनले भने, ‘म जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भनेर पैसा उठाउने विद्यालयका शिक्षकहरुलाई कारबाही गर्ने र परीक्षालाई व्यवस्थित बनाउन समन्वय गर्छु।’ #तस्वीर तथा समाचार अन्नपूर्णपोष्टबाट साभार…

Next Post

५० लाखको योजना पारिदिने भन्दै प्रमुखले नै चार लाख घुस लिएपछि...

२६ बैशाख २०८०, मंगलवार १३:११
बैशाख-२९, कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिकाका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले योजना ल्याउन चार लाख घुस खाएको खुलेको छ। उनले पलाँता गाउँपालिका-२ स्थित सिद्धनाथ आधारभूत विद्यालयमा भवन निर्माणका लागि ५० लाखको योजना ल्याइदिने भन्दै ४ लाख घुस खाएको खुलेको हो। विद्यालयमा भवनको योजना पारिदिने भन्दै नेकपा माओवादी केन्द्र निकट […]

सम्बन्धित