अविरल वर्षाका कारण आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा चार घर र एक पुलको
क्षति पुर्याएको छ । बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले नलगाड नगरपालिका वडा नं. १० स्थित तासुघाट खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । बाढीले सडक मात्र नभई भौतिक संरचनामा समेत क्षति पुर्याएको छ ।
बाढीले नलगाड–१० कै रोलीमा रहेको झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएको छ । यस्तै, सोही स्थानमा रहेका ढुङ्गा–माटोले बनेका र टिनले छाएका चारवटा घर बाढीले बगाएको प्रहरीले जनाएको छ । घर बगाए पनि मानवीय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय रग्दाले जानकारी दिएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
