रोल्पा पहिरो : २ जनाको मृत्यु १० जना बेपत्ता

  ।   २८ श्रावण २०८३, बिहीबार ०९:५२

अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा घर, पसल तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका र पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति करिब ८:४० बजे माथिबाट आएको पहिरोले कमलबहादुर पुन मगरको घरसहित घर र ढेब्ली गरी करिब सात परिवार बसोबास गर्दै आएका संरचना पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी थबाङ–५ का करिब १८ वर्षीया शान्ती पुन मगर र ६७ वर्षीय कमलबहादुर पुन मगर पुरिएको अवस्थामा फेला परेका छन्। मृतकका आफन्त तथा स्थानीय स्वास्थ्यकर्मी विमर्श घर्तीमगरले पहिरोमा परेका आफन्त भएको बताए ।

उनका अनुसार अत्यन्तै अफ्ठ्यारो स्थान भएकाले सबैको उद्धार र उपचार गर्न मुस्किल भइरहेको छ। रातिदेखि उद्धार जारी रहेको र बिहीबार बिहानैदेखि उद्धार थालिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि सुलैचौरतर्फ पठाइएको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी राति करिब ९:३० बजे स्थानीय इलाका प्रहरी कार्यालय उवा, रोल्पामा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली राति करिब १०:१५ बजे घटनास्थल पुगेको थियो। प्रहरी रातभर खटिएको थियो ।

बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी र स्थानीयवासी परिचालित छन्। थप मानिससमेत पहिरोमा परेको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको रोल्पाका प्रहरी प्रमुख डीएसपी पंचकुमार बाखुले बताए ।

उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।

उक्त क्षेत्र रोल्पा सदरमुकाम लिवाङदेखि करिब ८० किलोमिटर पूर्वोत्तरमा पर्छ। त्यस क्षेत्र नजिकैको अर्को गाउँमा केही वर्षअघि पहिरो जाँदा आधा दर्जन मानवीय क्षति भएको थियो। उवा क्षेत्र पहिरोको उच्च जोखिममध्येको स्थान हो ।

 

कान्तिपुर बाट साभार

Next Post

तत्काल रिहाइको माग गर्दै किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति

२८ श्रावण २०८३, बिहीबार ०९:५२
समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई समाचारको विषयलाई लिएर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई बुधबार राति ९ बजेको […]