कर्णालीमा सार्वजनिक यातायातमा प्रदेशसभा सदस्यलाई आरक्षण सिटको व्यवस्था

  ।   ३१ जेष्ठ २०८२, शनिबार ०९:२९

जेठ-३१, सुर्खेत ।

कर्णाली प्रदेश सभा सदस्यहरूले सार्वजनिक यातायातमा आफूहरूलाई आरक्षण सिटको व्यवस्था गर्ने कानुन बनाएका छन् ।

‘कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ व्यवहारिक नभएको गुनासो बढिरहँदा प्रदेशसभा सदस्यहरूले सार्वजनिक यातायातमा आफूहरूलाई आरक्षण सिट हुनुपर्ने प्रावधान राख्दा थप आलोचित बनेको छ ।

‘कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ को खण्ड ७ को परिच्छेद ६ मा सार्वजनिक यातायातसम्बन्धि व्यवस्था गरिएको छ । जसमा अशक्त, अपाङ्ग व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवति वा सुत्केरी महिलालाई जस्तै प्रदेशसभा सदस्यहरूलाई पनि आरक्षण सिट सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

प्रदेशसभा सदस्यहरू भने राज्यले आफूहरूलाई सवारी सुविधा दिन नसक्ने भएकाले यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले सार्वजनिक यातायातमा आरक्षण सिटको व्यवस्था गर्नुपरेको जिकिर गरेका छन् ।

जनप्रतिनिधिहरूले आफ्नो लागि कानुन नै बनाएर आरक्षण व्यवस्था गर्नु अशोभनीय भएको तर्क यातायात व्यवसायीहरुले गरेका छन् । समाज सेवा गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिले आफ्नो लागि आरक्षण सिट माग्नु लज्जास्पद भएको उनीहरू बताउँछन् ।

गत चैतमा जारी भएको ऐनमा २५० किलोमिटरभन्दा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई जना चालक राख्नुपर्ने र प्रत्येक ६ घण्टामा चालक फेर्नुपर्ने, ४ घण्टाभन्दा लामो दूरीमा चल्ने सवारीसाधनले हरेक ४ घण्टामा ३० मिनेट विश्राम लिनुपर्ने र सवारीसाधनमा सिसी क्यामेरा राख्नुपर्ने व्यवस्था छ ।

लामो दूरीमा चल्ने सवारी साधानमा दुई जना चालक राखिसकेको बताउने व्यवसायीहरू भने ६ घण्टाको फरकमा चालक परिवर्तन गर्न र ४ घण्टाको दूरीमा विश्राम लिने व्यवस्था व्यावहारिक नभएको बताउँछन् ।

ऐनमा यातायात व्यावसायीले परिचयपत्र र छुट्टै पोशाक लगाउनुपर्ने व्यवस्था छ । सार्वजनिक यातायातलाई सुरक्षित बनाउन ल्याइएको ऐनले व्यवहारिक पक्षलाई नजरअन्दाज गरेको आरोप लागिरहँदा प्रदेशसभा सदस्यहरूले आफ्ना लागि राखेको आरक्षणको प्रावधान जग हसाइँको विषय बनेको भन्दै सर्वत्र आलोचनाको विषय बनेको छ ।

कान्तिपुर टिभीबाट साभार ।

Next Post

सुर्खेतमा हनीट्रयाप : सहमतिमा यौन सम्बन्ध, रकम अशुल्न बलात्कारमा फसाईदिने भनेपछि परिन पक्राउ

३१ जेष्ठ २०८२, शनिबार ०९:२९
साउन-६, सुर्खेत । ‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने २१ वर्षिया सिन्दु चन्दलाई पक्राउ गरेको हो। २०८१ भदौमा एक पुरूषसँग सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाईदिने भन्दै सिन्दुले […]