रोल्पा पहिरो अपडेट : मृतकको सङ्ख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता

  ।   २८ श्रावण २०८३, बिहीबार १२:४४

रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएराति गएको पहिरामा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

अविरल वर्षाका कारण माथिबाट आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको थियो।

पहिरामा परेर थबाङ ५ की १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको थियो। उद्धारका क्रममा बिहीबार बिहान थप ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घटनामा दुई जना गम्भीर घाइते भएका छन्। उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि पठाउने पहल भइरहेको छ।

प्रहरीका अनुसार पहिरामा अझै नौ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

घटनास्थलमा बिहीबार बिहानैदेखि ठुलो सङ्ख्यामा उद्धार टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्री र सोको सहितको टोली खटिएको छ।

त्यसैगरी नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा टोली र सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा पनि प्रहरी टोली उद्धारमा खटिएको छ।

अविरल वर्षाका कारण पहिरो थप खस्न सक्ने जोखिम कायमै छ। जोखिमका बिच पनि सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेका छन्।

Next Post

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

२८ श्रावण २०८३, बिहीबार १२:४४
करिब पाँच महिनाअघि सिंगापुर गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् । बिहीबार बिहान साढे १२ मा देउवा विमानस्थल आइपुगेका हुन् । उनी विमानस्थलबाटै महाराजगन्जस्थित डेरामा जाने भएका छन् । स्वकीय सचिव भानु देउवाले यसअघि लिएको डेरामा बस्ने […]