करिब पाँच महिनाअघि सिंगापुर गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।
बिहीबार बिहान साढे १२ मा देउवा विमानस्थल आइपुगेका हुन् । उनी विमानस्थलबाटै महाराजगन्जस्थित डेरामा जाने भएका छन् । स्वकीय सचिव भानु देउवाले यसअघि लिएको डेरामा बस्ने बताए ।
देउवा फागुन १२ गते (फेब्रुअरी २५) स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका थिए ।तर, देउवा अहिले नेपाल फर्किंदा उनको र उनको परिवारको पाँच महिनाको विदेश बसाइबारे भने अझै धेरै प्रश्न अनुत्तरित नै छन् । देउवा काठमाडौंबाट सिधै सिंगापुर गए पनि, उनकी पत्नी आरजु राणा भने दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन् ।
देउवा दम्पती, उनकी पत्नी आरजु राणा र छोरा जयवीर कहिले सिंगापुरबाट हङकङ पुगे भन्ने स्पष्ट छैन । उनीहरूले विदेशमा उपचारका लागि गएको बताउँदै आए पनि कहाँ र कुन स्वास्थ्य समस्याको उपचार गराइरहेका छन् भन्नेबारे सार्वजनिक रूपमा जानकारी दिएका छैनन् । त्यसैगरी, लामो विदेश बसाइ र उपचार खर्च कसले व्यहोरेको हो भन्ने प्रश्न पनि यथावत् उठेको छ ।
