मन्त्रीलाई सचिवस्तरका सल्लाहकार, स्वकीय सचिवालयमा ९ जना सदस्य

  ।   ९ असार २०८३, मंगलवार २२:२६

काठमाडौं — मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्ययभार थपिने गरी मन्त्रीले सचिवस्तरका सल्लाहकारसहित ९ सदस्यीय स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् ।

सरकारले २ वैशाखमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमनराज अर्यालले सम्बन्धित मन्त्रालयमा पठाउन थालेका छन् । सल्लाहकार र ठूलो आकारको स्वकीय सचिवालय बनाउने निर्णयमाथि आलोचना हुन सक्ने भन्दै ढिला गरी निर्णयहरू मन्त्रालयमा पठाइएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले कान्तिपुरसित बताए ।

मन्त्रिपरिषद्को निर्णय प्राप्त भइनसकेका कारण मन्त्रीहरूले नयाँ व्यवस्थाअनुसार सचिवालय भने गठन गरिसकेका छैनन् । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गत साता वैशाख र जेठका मन्त्रिपरिषद्का सबै निर्णय सार्वजनिक गर्दा पनि २ वैशाखको उक्त निर्णय भने सार्वजनिक गरिएको छैन । निर्णयअनुसार १७ जना मन्त्रीले ५७ जना सल्लाहकार र १५३ जना स्वकीय सचिवालयमा नियुक्त गर्न पाउनेछन् । यसको अतिरिक्त ऐनले नै व्यवस्था गरेको निजी स्वकीयसहितको सचिवालय हुनेछ ।

प्रधानमन्त्री कार्यालयबाट कान्तिपुरलाई प्राप्त मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणीसरहका एक जना वैतनिक (पारिश्रमिक) सहित बढीमा ५ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछ । अन्य मन्त्रालयले एक जना वैतनिकसहित बढीमा ३ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछ ।’

मन्त्रीको सल्लाहकार तथा स्वकीय सचिवालयमा मन्त्रिपरिषद्ले तोकेभन्दा बढी पदाधिकारी/कर्मचारी आवश्यक पर्ने भएमा कार्यबोझ तथा औचित्यका आधारमा अर्थ मन्त्रालयको सहमति लिई सम्बन्धित मन्त्रालयले थप गर्न सक्ने निर्णयमा उल्लेख छ । प्रधानमन्त्री वालेन्द्र शाहले सम्हालेको रक्षासहित मन्त्रालयको संख्या १७ वटा छ । १७ मन्त्रीले ९ जनाका दरले सचिवालय सदस्य नियुक्त गर्दा १५३ जनाले नियुक्ति पाउनेछन् । त्यस्तै पूर्वाधार, ऊर्जा र कृषि मन्त्रालयले ५ जनाको दरले सल्लाहकार नियुक्त गर्दा १५ र बाँकी १४ मन्त्रीले ३ जनाको दरले सल्लाहकार राख्दा ५७ जनासम्मले मन्त्रालयहरूमा नियुक्ति पाउनेछन् ।

जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले ५ असोज २०८२ मा मन्त्री, उपप्रधानमन्त्री तथा राज्यमन्त्रीको सल्लाहकार तथा स्वकीय सचिवालयको दरबन्दीमा कटौती गरेको थियो । संघीय प्रदेशका मन्त्री र सांसदका स्वकीय सचिवको दरबन्दी पनि कटौती गरिएको थियो । हालको कार्यचाप, समन्वय तथा प्रशासनिक आवश्यकतालाई मध्यनजर गरी मन्त्रीहरूको सल्लाहकार तथा स्वकीय सचिवालयको दरबन्दी र सुविधा परिमार्जन गर्न आवश्यक परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सबै मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित एवं नतिजामुखी बनाउन मन्त्रीको सल्लाहकार र स्वकीय सचिवालयको संख्या वृद्धि गरिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । मन्त्रीहरूको स्वकीय सचिवालय दरबन्दी र सुविधा कायम गर्न प्रधानमन्त्री कार्यालयलाई अर्थ मन्त्रालयले २४ चैत २०८२ मै सहमति दिएको थियो ।

१३ चैत २०८२ मा शाह प्रधानमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् गठन भएको थियो । प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरूको कार्य प्रकृति, कार्यबोझ तथा आवश्यकताका आधारमा मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयको संख्या बढाउन भन्दै अर्थ मन्त्रालयसँग राय सहमति माग गरेको थियो ।

मन्त्रीको स्वकीय सचिवालयमा प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत, सञ्चार तथा जनसम्पर्क सहायक, सहायकस्तरका कर्मचारी, हलुका सवारी चालक र कार्यालय सहयोगी २/२ जना गरी ९ जना रहने व्यवस्था गरिएको छ । निर्णयअनुसार मन्त्रीको सचिवालयमा उपसचिवस्तरका १, अधिकृत २, नायब सुब्बा २ र श्रेणीविहीन सवारी चालक र कार्यालय सहयोगी ४ जना रहने उल्लेख छ ।

‘प्रमुख स्वकीय सचिव सम्बन्धित मन्त्रीले र अन्य कर्मचारी प्रमुख स्वकीय सचिवले नियुक्ति गर्नेछन्,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । हालको सरकारमा उपप्रधानमन्त्रीको व्यवस्था नभए पनि सहसचिव प्रमुख सचिव रहने गरी ९ सदस्यीय सचिवालय रहने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उपप्रधानमन्त्रीले सल्लाहकार राख्न पाउने विषय भने निर्णयमा उल्लेख छैन ।

मन्त्रालयमा मन्त्रीको सबैभन्दा ठूलो सल्लाहकार त्यही मन्त्रालयको सचिव हुन्छ, मन्त्रीले निजी सचिवमा उपसचिव पनि पाएका हुन्छन् ।‘किन चाहियो अरू सल्लाहकार र स्वकीय सचिवालय ?-गोपीनाथ मैनाली, पूर्वसचिवविभिन्न मन्त्रालयका सचिव र सहसचिवस्तरका कर्मचारीहरू सल्लाहकार नियुक्त गर्ने सरकारको निर्णयले राज्यको खर्च बढ्ने तर केही पनि काम नहुने तर्क गर्छन् । सरकारको निर्णयले कर्मचारीतन्त्रलाई अविश्वास गरेको महसुस भएको उनीहरूको गुनासो छ ।

पूर्वसचिव गोपीनाथ मैनालीले मन्त्रीलाई सल्लाहकार र स्वकीय सचिवालय आवश्यक नहुने तर्क गर्छन् । ‘मन्त्रालयमा मन्त्रीको सबैभन्दा ठूलो सल्लाहकार त्यही मन्त्रालयको सचिव हुन्छ, मन्त्रीले निजी सचिवमा उपसचिव पनि पाएका हुन्छन्,’ उनले प्रश्न गरे, ‘किन चाहियो अरू सल्लाहकार र स्वकीय सचिवालय ?’

विगतमा पनि सल्लाहकार र स्वकीय सचिवालय प्रभावकारी हुन नसकेको पूर्वसचिव मैनालीले टिप्पणी गरे । ‘विगतका सरकारका मन्त्रीले सल्लाहकार र स्वकीय राख्दा उनीहरूको ध्यान अतिरिक्त कुरामा गएको पाइन्थ्यो । उनीहरू विशेष गरी कर्मचारी सरुवा र ठेक्कापट्टामा ध्यान दिन्थे,’ उनले भने |

सल्लाहकार र स्वकीय सचिवालय मन्त्रालयका हाबी हुँदा कर्मचारीहरूको मनोबल झनै गिर्ने र अविश्वास बढ्ने बहालवाला सचिव र सहसचिवहरू बताउँछन् । ‘कर्मचारी स्थायी सरकार हुन् । मन्त्रालय, कानुनप्रति जवाफदेही नहुने, हस्ताक्षर नचल्ने, मन्त्रालयका कार्यकक्ष पनि नहुने सल्लाहकार र स्वकीय सचिवहरूका कारण समानान्तर सत्ताको जोखिम बढी हुन सक्छ,’ एक सचिवले कान्तिपुरसँग भने ।

पूर्वसचिव मैनाली पनि मन्त्रालयमा रहेका कर्मचारी र पदाधिकारीलाई नै मन्त्रीहरूले उपयोग गरेर प्रभावकारी बनाउनुपर्ने बताउँछन् । ‘बहुमत जनमत प्राप्त सरकारले भइरहेकै संरचनालाई बढी विश्वास र भरोसा गर्नुपर्छ । अश्विास भयो भने संस्था र कर्मचारी झन् कमजोर हुन्छन् । कर्मचारीमा हीनताबोध हुन्छ । प्रणाली बन्नेभन्दा पनि मन्त्रालय र सरकार तदर्थमा चल्न थाल्छ,’ उनले भने । विशेष काममा केही समयका लागि भने विज्ञ जनशक्ति नियुक्ति गरेर मन्त्रीहरूले काम गर्न सक्ने पूर्वसचिव मैनालीको सुझाव छ |

मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९ मा निजी सचिवालयसम्बन्धी व्यवस्था छ । निजी सचिव र सचिवालयका लागि आवश्यक सामग्री सरकारले नै उपलब्ध गराउने व्यवस्था छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिकाका आधारमा मन्त्रीहरूले सल्लाहकार, स्वकीय सचिवालयको नियुक्ति गर्दै आएका छन् । निर्देशिकामा स्वकीय सचिवस्तरका कर्मचारीको पारिश्रमिक र अन्य सुविधा तोकिएको हुन्छ । २०६२/०६३ देखि नै पटक–पटक मन्त्रिपरिषद्ले आफूअनुकूल निर्णय गर्दै मन्त्रीका स्वकीयछ ।

कान्तिपुर बाट साभार

Next Post

सेनाका सिपाईले गुमाए अभ्यासकै क्रममा ज्यान

९ असार २०८३, मंगलवार २२:२६
बिष्णु कुमार शाही कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक सिपाइको  ज्यान गएको छ भने एक सहसेनानी घाइते भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ गोराङ्गे स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, […]