विश्वकप क्वार्टरफाइनलमा पुग्ने टिमको भिडन्त र रोमाञ्चक समीकरण

  ।   २४ असार २०८३, बुधबार १०:०४

४८ टोलीको ऐतिहासिक सहभागिता रहेको फिफा विश्वकप २०२६ अब रोमाञ्चक मोडमा पुग्दै अन्तिम आठ अर्थात् क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ।

उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोमा जारी यस महाकुम्भको दुई हप्ता लामो तीव्र प्रतिस्पर्धापछि ४० राष्ट्रहरू प्रतियोगिताबाट बाहिरिएका हुन्। सह-आयोजक तीनै टोली बाहिरिएपछि अब विश्वकपको उपाधि दौड केवल युरोप, दक्षिण अमेरिका र अफ्रिकाका आठ उत्कृष्ट शक्तिहरू बिच खुम्चिएको छ। यस पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल टोलीहरूमा मोरक्को, फ्रान्स, नर्वे, इंगल्याण्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्याण्ड रहेका छन्, जो अब सुनौलो ट्रफी उचाल्ने एउटै लक्ष्यका साथ मैदानमा उत्रिँदैछन्।

विश्वभरका फुटबल प्रेमीहरूको नजर अब मैदानमा हुने स्टार खेलाडीहरूको महाभिडन्तमा टिकेको छ। नेपाली समय अनुसार खेल तालिकाको सुरुआत शुक्रबार बिहान १:४५ बजे फ्रान्स र मोरक्कोबिचको पहिलो क्वार्टरफाइनलबाट हुनेछ। फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पे आफ्नो खेल जीवनमा सन् २०१८ पछि अर्को विश्वकप उपाधि थप्दै कीर्तिमान बनाउने लक्ष्यमा छन्।

२७ वर्षीय एम्बाप्पेको गतिको सामना गर्न विपक्षी रक्षापङ्क्तिलाई सधैं कठिन हुने गर्दछ। उता, सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्को यसपटक फाइनलसम्मको यात्रा तय गर्ने दाउमा छ। अन्तिम १६ मा क्यानडालाई पाखा लगाउँदै अन्तिम आठमा पुगेको मोरक्को फ्रान्स विरुद्ध २०२२ को सेमिफाइनल बदला लिँदै अर्को ऐतिहासिक उलटफेर गर्ने दाउमा हुनेछ।

शनिबार मध्यरात १२:४५ बजे स्पेन र बेल्जियमबिच दोस्रो भिडन्त हुनेछ। स्पेन आफ्नो बलियो रक्षापङ्क्तिका कारण यस प्रतियोगितामा सबैभन्दा खतरनाक टोली साबित भएको छ। चालु विश्वकपका खेलहरूमा स्पेनले आफ्नो पोस्टमा एक गोल पनि हुन दिएको छैन। उसका भरपर्दा गोलकिपर उनाई साइमनले ६०९ मिनेटसम्म गोल नखाई क्लिन-सिटको सानदार कीर्तिमान कायम राखेका छन्।

अर्कोतर्फ, बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ का अनुभवी खेलाडीहरू थिबाउट कोर्टोइस, रोमेलु लुकाकु र केभिन डे ब्रुयन आफ्नो खेल जीवनको उत्तरार्धमा टोलीलाई ऐतिहासिक सफलता दिलाउन कम्मर कसेर लागेका छन्। अन्तिम १६ मा आयोजक अमेरिकालाई ४-१ को भारी गोलअन्तरले पन्छाएको उच्च मनोबल बोकेको बेल्जियम स्पेनको रक्षापङ्क्ति तोड्ने दाउमा हुनेछ।

क्वार्टरफाइनलको बाँकी दुई रोमाञ्चक खेलहरू आइतबारका लागि तय गरिएका छन्। आइतबार बिहान २:४५ बजे गोल मेसिन एर्लिङ हालान्डको कप्तानीमा सनसनीपूर्ण रूपमा अघि बढिरहेको नर्वे र सन्तुलित लयमा देखिएको इंगल्याण्डबिच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ।

हालान्ड हाल विश्वकै सबैभन्दा प्रभावशाली र घातक स्ट्राइकरका रूपमा उदाएका छन्। उनको आक्रामक प्रहारको सामना इंगल्याण्डको रक्षापङ्क्तिले कसरी गर्छ, त्यो हेर्न लायक हुनेछ। अर्कोतर्फ, इंगल्याण्डका रणनीतिक प्रशिक्षक थोमस टुचेल आफ्नो विशेष योजनाका साथ मैदान उत्रिँदैछन्। इंगल्याण्ड सन् १९६६ पछि पहिलो पटक विश्वकपको उपाधि खडेरी तोड्ने तीव्र प्रतीक्षामा रहेको छ।

सोही दिन बिहान ६:४५ बजे अर्जेन्टिना र स्विट्जरल्याण्डबिच अन्तिम क्वार्टरफाइनल खेल खेलिनेछ। सबैभन्दा बढी दबाब र उत्सुकता भने अर्जेन्टिनाका विश्वविजेता कप्तान लियोनेल मेस्सीको खेलमा हुनेछ। मेस्सी आफ्नो खेल जीवनको दोस्रो विश्वकप उपाधिको खोजीमा मैदान उत्रिँदैछन्।

यदि अर्जेन्टिनाले यस पटक उपाधि रक्षा गरेमा मेस्सी विश्वकप ट्रफी उचाल्ने दुर्लभ कीर्तिमानी कप्तानहरूको सूचीमा सामेल हुनेछन्। यद्यपि, लामो समयपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्याण्ड पनि इतिहास रच्न तयार अवस्थामा छ। अन्तिम १६ मा इटाली जस्तो बलियो टोलीलाई स्तब्ध पारेको स्विट्जरल्याण्ड अर्जेन्टिनालाई समेत घर पठाउँदै सेमिफाइनल यात्रा तय गर्ने दाउमा रहेको छ।

नागरिक बैनीक बाट साभार

Next Post

बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो

२४ असार २०८३, बुधबार १०:०४
कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए। कार्यक्रममा बोलिएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको […]