सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने बताएका हुन्।
बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। समर्थन फिर्ता लिएको एक महिना पछी शाहले राजीनामा घोषणा गरेका हुन्।
प्रदेशसभामा सम्बोधन गर्दै शाहले बजेट निर्माणको विषयलाई लिएर आफूविरुद्ध राजनीतिक तथा व्यक्तिगत आरोप लगाइएको बताए। सरकारको साझेदार भएर बजेट निर्माणका हरेक चरणमा सहभागी भएको एमालेले पछि आफ्नै सहभागितामा बनेको बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव ल्याएर अस्थिरता निम्त्याएको उनको आरोप थियो।
अब मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुल्नेछ। केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार नेकपा र नेकपा एमालेबीच प्रदेश सरकार गठनका लागि सहकार्य भएको छ। सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ।
शाहले राजीनामा दिएसँगै प्रदेशको लामो समयदेखिको राजनीतिक अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। तर नयाँ सरकार गठनसँगै बजेट शून्यता अन्त्य गरी प्रदेशसभाबाट नयाँ बजेट पारित गराउनु भने नयाँ सरकारका लागि प्रमुख चुनौती बन्नेछ।
