अविरल वर्षाका कारण जाजरकोटका विभिन्न ठाउमा पैरो जादा छ जना घाइते भएका छन् . जाजरकोटको भेरी नगरपालिकाको वडा–२ रिसाङ र वडा-३ स्यालामा गएको पहिरोमा परी ६ जना घाइते भएका हुन् । पहिरोले एउटा घर र दुई वटा अस्थायी टहरा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने सडकसमेत अवरुद्ध भएको छ ।
शनिबार अपराह्न भएको अविरल बर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोका कारण घर तथा बस्ती जोखिममा परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमान्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टर जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा १० जनाको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालन गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलतर्फ गएको हो ।
पहिरोमा परि भेरी नगरपालिका–२ रिसाङमा ६० वर्षीय रामबहादुर शाहीमाथि पहिरो खसेर छाती, टाउको र हातमा चोट लागेको छ । उनी स्थानीय ४५ वर्षीय सिद्धिबहादुर कामीको आरनमा काम गरिरहेका बेला पहिरो खसेको हो । शाहीको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।पहिरोमा परी भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्रावली कार्कीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ ।
पहिरोमा परी आरन सञ्चालक सिद्धिबहादुर कामीको ढाडमा समेत चोट लागेको छ । उनको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ ।
त्यस्तै, भेरी नगरपालिका–२ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । सोही स्थानकी १६ वर्षीया मनिषा विकको शरीरमा चोट लागेको छ भने ४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुई तले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । घर भत्किएपछि पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ । सोही स्थानकी भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा भत्काएको छ । ती टहरामा भने हाल मानिसको बसोबास नरहेको जनाइएको छ ।
घटनापछि अस्थायी प्रहरी पोस्ट रावत गाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुंगानाको कमान्डमा पाँच जनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको छ ।
