आफ्नै श्रीमतीलाइ श्रीमानले लगाए आगो

  ।   २७ श्रावण २०८३, बुधबार १३:५६

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–१३ रामघाटकी ५० वर्षीया महेश्वरी रानामाथि उनकै श्रीमान ४९ वर्षीय जयबहादुर रानाले पेट्रोल छर्केर आगो सल्काएका छन्।

साउन २६ गते (सोमबार) साँझ करिब ५:०० बजेको समयमा जय बहादुरले महेश्वरीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। श्रीमानले आगो लगाइरहेको अवस्थामा उनकी १८ वर्षीया छोरी पुष्पा रानाले देखेकी थिइन्। छोरीले तत्कालै आगो निभाएर आमालाई बचाउने प्रयास गरेकी थिइन्।

आगोबाट महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुर प्रसाद पाेखरेलले जानकारी दिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको छ।

घटनालगत्तै घाइते महेश्वरीलाई उपचारका लागि साँझ ६:१५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि साँझ  नेपालगञ्जस्थित भेरी अस्पताल रिफर गरियो।

भेरी अस्पतालमा राति  पुर्‍याइएकी घाइतेको अवस्था गम्भीर रहेकाले राति नै थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको पाेखरेलले जानकारी दिए ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी रामघाटबाट प्रहरी सहायक निरीक्षक जितबहादुर खड्काको कमाण्डमा र इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो।

आगो लगाउने श्रीमान् जय बहादुर रानालाई सोही साँझ ६:५० बजे कर्णाली प्रदेश अस्पताल सुर्खेत बाहिरबाट प्रहरी हवल्दार कृष्णबहादुर थापाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका जयबहादुरलाई पनि उपचारको आवश्यकता देखिएकाले कर्णाली प्रदेश अस्पताल कालागाउँमै भर्ना गरी प्रहरी निगरानीमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित