जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएको बताए । ‘केही दिनअघि उहाँको सञ्चारमाध्यममा आएको तस्बिरसँग सम्बन्धित विषय हो,’ उनले कान्तिपुरसँग भने, ‘अहिलेसम्म एउटा मात्र उजुरी आएको हो ।’
हाल उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ ।
