दैलेखको नौमुले गाउँपालिका–३ भाँडेमा एक सातादेखि भाइरल ज्वरोका कारण ८२ घरधुरी रहेको भाँडेका कम्तीमा १८ घरधुरीमा स्थानीय बिरामी परेको बताइएको छ।
स्थानीय ठुलो चम्लाए, निर्गा, भावसैनी, भित्री खोला लगायतका बस्तीमा ज्वरोका बिरामी देखिएका छन् . स्थानीय अगुवा गंगाराम सापकोटाका अनुसार एक सातादेखि गाउँमा ज्वरोको समस्या देखिए पनि नियन्त्रणमा आउन सकेको छैन। ‘हप्ता दिनदेखि गाउँमा ज्वरोका बिरामी छन्’, ‘ज्वरो नियन्त्रणमा आएको छैन सापकोटाले भने ।
स्थानीय भविलाल सुनखरीले आफू पाँच दिनदेखि ज्वरोले थलिएको बताए। भाँडेमै रहेको कागते स्वास्थ्य इकाइ करिब एक वर्षदेखि बन्द रहेकाले गाउँमै उपचारको सुविधा छैन।
ज्वरोका बिरामी बढे पनि हालसम्म स्वास्थ्य सेवा कार्यालय दैलेख वा प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेबाट स्वास्थ्यकर्मी पुग्न नसकेको स्थानीयहरू बताउँछन्।
ज्वरोका बिरामी भएको जानकारी प्राप्त भएकाले तत्काल स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा पठाउने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले बताए।
‘भाँडेमा ज्वरोका बिरामी भएको भर्खरै खबर आएको छ’, डा. विश्वकर्माले भने, ‘तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर अवस्था बुझ्ने र आवश्यक उपचार गर्ने व्यवस्था मिलाउँछौँ।’
स्वास्थ्य उपचारका लागि स्थानीयलाई नौमुले बजार पुग्न करिब तीन घण्टा र द्धारी स्वास्थ्य चौकी पुग्न झण्डै दुई घण्टा लाग्छ। वर्षाका कारण बाटोसमेत कठिन भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएको स्थानीयको भनाइ रहेको छ।
