डाक्टर केसीको २४ औं अनशन सुरु

  ।   ७ श्रावण २०८३, बिहीबार १७:५८

कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २३ औं पटकसम्म अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीले २४ औं अनशन सुरू गरेका छन्।

डाक्टर केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने मार्गचित्र तय गरे पनि वर्तमान सरकारले यसको कार्यान्वयनका लागि कुनै तत्परता नदेखाएको डा. केसीको आरोप छ। उनले न्यूनतम मापदण्ड र पूर्वाधारसमेत नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको बाहुल्य रहेको बताउँदै नीति निर्माण, कार्यान्वयन र सार्वजनिक संस्थानका पदपूर्तिमा निजी मेडिकल माफिया र तिनका प्रतिनिधिहरूको प्रत्यक्ष प्रभुत्व रहेको दाबी गरेका छन्। डाक्टर केसीले यस पटकको सत्याग्रहका लागि ५ बुँदे माग अघि सारेका छन्।

स्थापित नियम र मूल्य-मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरिनुपर्ने उनको पहिलो बुँदाको माग रहेको छ।

यसैगरी, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने, ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरिनुपर्ने तथा विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरिनुपर्ने उनको माग छ।

यसैगरी, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने माग उनले राखेका छन्।

साथै, २०८२ भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरिनुपर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने माग अघि सारेका छन्।

आफूले अघि सारेका मागहरूप्रति सरकारले पूर्ण रूपमा बेवास्ता गरेकाले बाध्य भएर अनशन बस्नुपरेको डाक्टर केसीले बताएका छन्।

सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयअन्तर्गत मेडिकल शिक्षा सुरू गर्नुभन्दा अगाडि कम्तिमा तीन सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने बताएका डाक्टर केसीले सरकारको मनसाय नै गुणस्तरीय मेडिकल शिक्षाको बाधक रहेको बताए। उनले तीन सय शय्याको अस्पताल सञ्चालन सुरू हुनुपर्ने र त्यसपछि पढाइ सुरू गर्नुपर्ने बताए।

यता, सुदूरपश्चिमबासीले भने गेटा मेडिकल विश्वविद्यालय सञ्चालनको मुखमा डाक्टर केसीको अनशन सुरू भएको भन्दै विरोध हुन थालेको छ। तर डाक्टर केसीले भने मेडिकल पढाइ सुरु गर्ने र अस्पताल सञ्चालन गर्ने विषयमा सरकारको कुनै तयारी नै नरहेको बताएका छन्। उनले आफू गेटामा विश्वविद्यालय र पूर्ण क्षमताको अस्पताल चल्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे।

“गेटामा मेडिकल विश्वविद्यालय चल्नु पर्छ भन्ने मेरो माग हो। पूर्ण क्षमताको अस्पताल चलाएर पठनपाठन सुरू गर्नुपर्छ,” उनले भने, “मैले विश्वविद्यालयको बिरोध गरेको छैन, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिको विषयमा मात्र विरोध हो।”

डाक्टर केसीले आफू स्वास्थ्य क्षेत्रको विज्ञ भएकाले सरकारले गर्न लागेको गल्ती बारे थाहा भएको बताउँदै नियुक्ति प्रक्रिया र कानुन सुधारमा कैफियत रहेको बताए। उनले आफू जहिल्यै स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्ष गर्दै आएकाले कसैले साथ नदिए पनि एक्लै लड्ने स्पष्ट पारे।

दिनेश खबर बाट साभार

Next Post

दैलेखमा सर्पदंश बाट आमा छोराको ज्यान गयो

७ श्रावण २०८३, बिहीबार १७:५८
बिष्णु कुमार शाही लेखको चामुण्डा बिन्द्रासैनी नगर पालिका ९ दहगाउमा गए राति सर्पको टोकाइबाट आमा छोराको ज्यान गएको छ . २७बर्सिय कल्पना रावलले सर्पदंश बाट घाइते भएका आफ्ना छोरालाई बचाउन खोज्दा आमा छोराकै ज्यान गएको परिवारले बताएका छन् . मंगला वार राति आफ्ना ९ बर्षिया छोरा आयुस रावले कहिले टोकेको […]