आरोपी किशोरको भिडियो खिच्ने प्रहरी पक्राउ

  ।   ८ भाद्र २०८३, सोमबार १६:१४

बारामा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले किशोरले बयान दिइरहेको भिडियो खिच्ने एक जना हवल्दारलाई नियन्त्रणमा लिइएको छ ।

‘भिडियो खिच्ने एक जना प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ, अन्य ४ जना अनुसन्धानको घेरामा छन्,’ एसपी कुँवरले  भने, ‘पक्राउ परेकाविरुद्ध फौजदारी कसूरमा अनुसन्धान अगाडि बढाइनेछ ।’

एसपी कुँवरले सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्ने र सेयर गर्नेहरूमाथि पनि अनुसन्धान हुने बताए ।

अनुसन्धानका क्रममा लिइएको भिडियो फेसबुक, एक्स (ट्विटर), टिकटक र रेडिटजस्ता प्लेटफर्ममा भाइरल भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ । नेपालको प्रचलित कानुनले अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान खुल्ने कुनै पनि सामग्री सार्वजनिक गर्न रोक लगाएको छ । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा १७ ले अनुसन्धानको सिलसिलामा रहेका व्यक्तिलाई सार्वजनिक गर्न नहुने व्यवस्था गरेको छ

उक्त दफामा स्पष्ट भनिएको छ, ‘कानुनबमोजिम अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिलाई लागेको कसूरका सम्बन्धमा सम्बन्धित निकायमा अभियोगपत्र दायर नभएसम्म निजलाई अधिकारप्राप्त अधिकारीले कुनै पनि तरिकाले सार्वजनिक गर्न वा गराउनु हुँदैन ।’प्रहरीकै नियन्त्रणमा रहेको अवस्थामा गोप्य रहनुपर्ने भिडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरीले यस विषयमा आन्तरिक छानबिन अगाडि बढाएको छ ।

Next Post

रास्वपा कैलालीको निर्णय छाउगोठ नभत्काउने नेता–कार्यकर्ताले चुनाव लड्न नपाउने

८ भाद्र २०८३, सोमबार १६:१४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिले छाउपडी विरुद्ध कडा निर्णय लिएको छ। पार्टीको कुनै जिम्मेवार पदमा रहेका वा आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको घरमा छाउगोठ कायम रहेको पाइएमा एक महिनाभित्र अनिवार्य रूपमा भत्काउनुपर्ने निर्णय गरिएको छ। चुरे गाउँपालिकामा बसेको रास्वपा कैलाली जिल्ला समितिको बैठकले तोकिएको एक महिनाको समयावधिभित्र […]