बुधवार रसुवाको भोटेकोशीमा विनासकारी आएको बाढीको प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन् ।
दुवै दलको संसदीय दलको बैठकले आफ्ना सांसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रति सांसद १५ हजार रुपैयाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार रकम जम्मा गरिसकिएको कांग्रेसले जनाएको छ ।
कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना सांसद छन् । उनीहरूबाट २ लाख २५ हजार रुपैयाँ संकलन भएको छ ।
यस्तै, एमाले संसदीय दलले पनि प्रति सांसद १५ हजार रुपैयाँका दरले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक टेकराज पछाईले बताए ।
कर्णाली प्रदेश सभामा एमालेका १० जना सांसद छन् । उनीहरूबाट १ लाख ५० हजार रुपैयाँ संकलन हुनेछ ।
कांग्रेस र एमालेका सांसदहरु बाट रसुवा बाढी प्रभावितका लागि कुल ३ लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने भएका हुन् ।
