कर्णालीकी ‘जेठी आमा’ भनेर चिनिने कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ । तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँ निवासी शाहीलाई स्थानीयस्तरमा कालु जेज्या (कालु जेठी आमा) पनि भन्ने गरिन्थ्यो ।
विसं १९६६ मा सोही वडाको नुवाकोट गाउँमा जन्मनुभएकी शाहीको उनकै निवासमा सोमबार निधन भएको स्थानीय ८३ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार एकल जीवनबाट सङ्घर्ष गर्दै आएकी उनले ६७ वर्षअघि आफ्नो पति गुमाएकी थिइन् । दुई छोरामध्ये जेठो मानसिंह शाहीको २० वर्ष, छोरी राजु शाहीको १३ वर्ष र कान्छो छोरा धनमल शाहीको सात वर्षअघि निधन भएको थियो ।
पति, एक छोरी र दुई छोराको बिछोडको वियोगलाई शक्तिमा बदलेर जीवन चलाउँदै आउनुभएकी शाही दुई दिनको ज्वरो रोगबाट मृत्यु भएको उनका नाति लङ्कबहादुर शाहीले बताए । आफ्नो जीवनकालमा नाति, पनाति र जनातिसम्म देखेर ११७ वर्षको उमेरमा देहत्याग गर्ने शाही कर्णालीको इतिहासमा सबैभन्दा जेठो महिला भएको बताइएको छ । शाहीको सोमबार नै दाहसंस्कार गरिएको नाति लंकबहादुरले जानकारी दिए ।
रा स स
