मन्त्री र सांसदलाई सभापति लामिछानेको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनूस

  ।   ३ भाद्र २०८३, बुधबार १९:०६

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन मन्त्रीहरू र पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहाना बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ ।’ जनताले सांसदहरूलाई प्रश्न गरिरहेको र सांसदले मन्त्रीलाई प्रश्न गरिरहेको यथार्थ आफूलाई जानकारीमा रहेको सभापति लामिछानेको भनाइ रहेको थियो । योग्यताक्रम र समावेशितालाई ख्यालमा राखेर अगाडि बढ्नुपर्ने पनि उनले बताएका थिए । उनले भने, ‘घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्छ । सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी हुन्छ । एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुस् ।’

प्रतिनिधिसभा बैठकमा बोल्ने विषयमा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतकहरू प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जानकारी दिन पनि सभापति लामिछानेले निर्देशन दिएका थिए । सांसद र मन्त्रीले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने बताउँदै उनले भनेका थिए, ‘संसद्‌मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्छ ।’

सभापति लामिछानेले संसद्‌को यो कार्यकाल मात्रै राजनीति गर्छु भनेर आएका नेताहरूलाई ससम्मान बिदाइ गर्ने बताएका थिए । सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन आग्रह गर्दै उनले भनेका थिए, ‘राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाइ गर्दिन्छु । लगानी बिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न ।’

सभापति लामिछानेले विगतमा रास्वपाको आलोचना र घृणा गर्नेहरू अहिले आफूभन्दा ठूला रास्वपा भएको बताएका थिए । ‘रास्वपालाई घृणा गर्नेहरू आज रवि लामिछानेले भन्दा ठूलो घण्टी बोक्न थालेका छन्,’ उनले भनेका थिए ।

सरकार शक्तिशाली भएपनि विपक्षी दलहरू पनि एकताबद्ध भएर संसद्‌मा प्रस्तुत भइरहेको लामिछानेको भनाइ थियो । त्यसैले पनि सांसद, दल र सरकारबाीको समन्वय अझ प्रगाढ बनाउनुपर्ने उनले जोड दिएका थिए ।

मन्त्री र सांसदहरूलाई प्रचारमुखी भन्दा काममा ध्यान दिन पनि सभापति लामिछानेले भनेका थिए । लामिछानेले मन्त्रीहरूबारे सांसदका गुनासो सुनेका थिए । सांसदहरूले मन्त्रीका कार्यशैलीलाई लिएर आलोचना गरेका थिए । जवाफमा सभापति लामिछानेले आगामी दिनमा मन्त्रीहरूको कार्यशैली परिवर्तन हुने र सांसदले उठाएका विषय सम्बोधन गरिने आश्वासन दिएका थिए । ‘अब मन्त्रीहरूका कार्यशैली परिवर्तन हुन्छ तर मन्त्री फेरिँदैनन् । सबै समस्याको सामूहिक रूपमा समना गर्नुपर्छ,’ सभापति लामिछानेले भनेका थिए । मन्त्रीहरूलाई प्रभावकारी रूपमा काम गर्न पनि उनले निर्देशन दिएका थिए । ‘आवश्यक परेको बेलामा पार्टीले निर्णय गर्छ, तर अहिले मन्त्री परिवर्तन हुँदैनन् । ढुक्क भएर काम गर्नुस्,’ लामिछानेले भनाइ थिए ।

सरकार र मन्त्रीका कामकारबाहीलाई लिएर संसद्‌मा प्रश्न गर्न पनि सभापति लामिछानेले सांसदहरूलाई भनेका थिए । सांसदले सरकारको कामको समीक्षात्मक रूपमा टिप्पणी गर्नुपर्ने र संसदीय मर्यादामा भने रहनुपर्ने उनले बताएका थिए । मन्त्रीलाई भनेका काम भएनन् भने आफूकहाँ आउन पनि सभापति लामिछानेले सांसदहरूलाई भनेका थिए । सभापति लामिछानेले संसदीय दलको आगामी बैठक दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा हुने जानकारी गराएका थिए । प्रधानमन्त्री शाहसँग संसदीय दलको बैठकबारे आफूले कुराकानी गरिसकेको पनि सांसदहरूलाई जानकारी गराएका थिए ।

सभापति लामिछानेले सांसदहरूलाई विपक्षी दलका सांसदले बोलेका विषयलाई लिएर प्रतिवाद नगर्न पनि भनेका थिए । विपक्षी दलका सांसदले आफ्नो भूमिका निर्वाह गरिरहेको बताउँदै उनले आगामी दिनमा आफ्नो पार्टीका सांसदहरूलाई संसद्‌मा अभिव्यक्ति दिएकै कारण प्रतिवादमा उत्रिने काम नगर्न भनेका छन् .

Next Post

कर्णालीमा एमालेका मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

३ भाद्र २०८३, बुधबार १९:०६
कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट तिन जना मन्त्रीहरुले शपथ लिएका छन् | आज शपथ लिनेहरुमा  आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा टेक राज पछाई समाजिक बिकास मन्त्रीको रुपमा जित बहादुर मल्ल र उर्जा मन्त्रीको रुपमा कल बहादुर हमालले शपथ ग्रहण गरेका हुन्  । नवनियुक्त तिनै जना माननीय मन्त्रिज्यु एकपा एमाले […]