कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक वनमा सिकार खेल्ने क्रममा जङ्गली बँदेललाई लक्षित गरी हानिएको गोली साथीलाई लाग्दा ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको खुलेको छ।
इलाका प्रहरी कार्यालय बौनियाका अनुसार भदौ २ गते दिउँसो कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाबारे प्रारम्भिक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार विश्वकर्मासहित उनीहरू सबै साथीहरू हुन्। उनीहरू सँगै वनमा सिकार खेल्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन्।
घटनापछि भने मृतकको शवलाई जङ्गलमै लगेर राखी उनीहरू त्यहाँबाट भागेको खुलेको प्रहरीले जनाएको छ। मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई पक्राउ गरेको छ।
घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत प्रहरीले बरामद गरेको छ। अनुसन्धानका क्रममा राकेश डगौरा थारुले घटनामा प्रयोग भएको भरुवा बन्दुक जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेपछि प्रहरीले त्यहाँबाट थप एक थान भरुवा बन्दुक बरामद गरेको हो।
निरीक्षक विष्टका अनुसार घटनामा उनीहरूसँगै अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुन सक्ने भएकाले अनुसन्धानलाई थप अगाडि बढाइएको छ। घटनामा संलग्नता खुले थप व्यक्तिहरू समेत पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ।
सिकार खेल्ने क्रममा भएको यो घटनामा भरुवा बन्दुक कसरी चलाइयो, घटनास्थलमा को–को उपस्थित थिए र घटनापछि शव जङ्गलमा लगेर राख्नुको कारण के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
