भोलि राति नेपाली आकाशमा वीणा उल्का वर्षा हुने

  ।   ८ बैशाख २०७८, बुधबार १८:५५

 

८ वैशाख, काठमाडौं ।

मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ११:०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्षा उच्च देखिने उनले सुनाए ।

अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ । ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँछ ।

पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन् । जुन लाखौ किलोमिटरसम्म फैलन सक्छ । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।

परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

Next Post

ओली–नेपाल भेटले कर्णालीका एमाले नेता उत्साही, शाही सरकार ढाल्न सकिने आश

८ बैशाख २०७८, बुधबार १८:५५
बैशाख ९, सुर्खेत । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएपछि कर्णालीका एमाले नेता तथा कार्यकर्ता उत्साही भएका छन् । शीर्षस्थ नेताद्वयको भेटघाट एवम् छलफलले पछिल्लो समय बढेको विवाद साम्य भएर पार्टी एक हुने अपेक्षासहित उनीहरु खुसी भएका हुन् । […]