रास्वपाको प्रथम महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

  ।   ७ असार २०८३, आईतवार ०९:४९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ। चितवनमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भइसकेको छ। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

स्थापनापछि पहिलो पटक रास्वपाको महाधिवेशन हुन लागेको हो। चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्ने उनले जानकारी दिए।

महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आइपुग्ने कार्यतालिका रहेको छ।

सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले दिउँसो २ बजे संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने बताइएको छ। उद्घाटन सत्रमा सांगीतिक प्रस्तुति, प्रतिनिधि तथा शुभेच्छुकहरूको स्वागतसहित कार्यक्रम सुरु हुनेछ। उद्घाटन सत्रमा पार्टीको राजनीतिक यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिनेछ भने थारू समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

को-को हुँदै छन् सहभागी?

उद्घाटन समारोहमा विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरू सहभागी हुँदै छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देन सहभागी हुने बताइएको छ। उनीहरूले समारोहमा शुभकामना व्यक्त गर्ने छन्। यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले महाधिवेशनमा आफू नजाने घोषणा गरिसकेका छन्।

महाधिवेशनबाट रास्वपाको नयाँ संरचनामा १९ पदाधिकारी, १५८ केन्द्रीय सदस्य र ३५ सदस्यीय सचिवालय गठन गर्ने भएको छ। महाधिवेशनको सभास्थल, मञ्च, आवास, यातायात तथा खानपान व्यवस्थापन मिलाइएको छ।

पार्टीको यातायात विभाग र यातायात उपसमितिले कोही कसैलाई यातायातमा समस्या परे चितवन जिल्लाबाहिर पनि समन्वय गरिरहेको छ। चितवन आइसकेपछि महाधिवेशनस्थल र बास बस्ने ठाउँसम्म आवतजावत गर्न सटल बस सञ्चालन गरिएको छ। कार्यक्रमस्थलमा एम्बुलेन्सदेखि लिएर फर्स्ट एड उपचार र डाक्टर नै उपस्थित हुने व्यवस्था गरिएको छ।

विशेष डेस्कको व्यवस्था

महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रियाका लागि रास्वपाले विशेष डेस्कको व्यवस्था गरेको छ। प्रतिनिधि, स्वयंसेवक, पर्यवेक्षक तथा अतिथिहरूको पहिचानका लागि छुट्टाछुट्टै परिचयपत्र तथा पहिचान चिह्न तयार गरिएको पार्टीले जनाएको छ।

नेतृत्व चयनका लागि ८० वटा मेसिन प्रयोग

रास्वपाले पहिलो पटक नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ) प्रयोग गर्ने भएको छ। मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिनेछ भने १० वटा मेसिन परीक्षण तथा अभ्यासका लागि छुट्याइएको छ। प्रतिनिधिहरूले मतदानअघि नै ती मेसिन प्रयोग गर्ने तरिका सिक्न सक्ने व्यवस्था मिलाइएको छ। भने, मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्रै नतिजा सार्वजनिक गर्न सकिने बताइएको छ। साथै, विदेशमा रहेका प्रतिनिधिले पार्टीको मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै, पार्टीले महाधिवेशनस्थल तथा वरपरका क्षेत्रमा ब्यानर, फ्लेक्स, पर्चा, पम्प्लेट वा अन्य प्रचार सामग्री प्रदर्शन तथा वितरण गर्न निषेध गरिएको छ। सामाजिक सञ्जाल, एसएमएस वा अन्य सञ्चारमाध्यममार्फत भ्रामक सूचना फैलाउने, सशुल्क विज्ञापन गर्ने वा मत माग्ने कार्यसमेत निषेध गरिएको छ।

दोस्रो दिन बन्दसत्र

महाधिवेशनको दोस्रो दिन बन्दसत्र सञ्चालन हुनेछ। रास्वपाले यसलाई ‘प्रतिवेदन सत्र’का रूपमा परिभाषित गरेको छ। बन्दसत्रमा विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति–विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ।

नागरीक दैनिक बाट साभार

Next Post

तलको बक्समा प्रीति फन्टका अक्षरहरु लेख्नुहोस् वा पेस्ट गर्नुहोस्:

७ असार २०८३, आईतवार ०९:४९
फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ। पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले ३-१ ले हराएको हो। इजिप्टले विश्वकप इतिहासमै आइतबार आफ्नो ऐतिहासिक जित आत्मसात् गरेको छ । दोस्रो हाफको तीन गोलको मद्दतले इजिप्टले भ्यान्कुभरको बीसी प्यालेसमा जारी विश्वकप २०२६ को समूह ‘जी’ को […]

सम्बन्धित