अविरल वर्षाका कारण गोठमाथिबाट खसेको ढुंगाले लाग्दा डोल्पामा एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१, खलवलगाडाका ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार राति करिब पौने १० बजे बगरहेराल खोलास्थित त्रिपालले बनाइएको गोठमा मनरूप र उनका भाइ ३८ वर्षीय चन्द्ररूप केसी सुतिरहेका थिए ।
वर्षाका कारण गोठमाथिको भिरबाट ढुंगा खस्दा मनरूपको टाउको र छातीमा चोट लागेको थियो । घाइते मनरूपलाई उपचारका लागि स्वास्थ्य चौकी लिकु लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्ररूपको ढाडमा चोट लागेको भए पनि उनको अवस्था सामान्य रहेको र घरमै रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी शनिबार बिहान साढे ५ बजे पाएपछि प्रहरी सहायक निरीक्षक पृथ्वीसिंह ठकुरीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मृतकको शव घरमा ल्याएर राखिएको जनाएको छ ।
