कर्णालीका पाँच सडकखण्ड बर्षा र पहिरोले अवरुद्ध

  ।   १० आश्विन २०८३, शनिबार ०८:४८

लगातार भैरहेको भारि बर्षा र पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकमा यातायात प्रभावित भएको हो। दैलेख कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड खच्चा क्षेत्रमा पहिरो गएपछि सडक बन्द भएको छ। प्रहरीका अनुसार मुगुको नाग्मा गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।

जाजरकोटको छेडागाड नगरपालिका ४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको छ। पहिरोका कारण छेडा थलह सडक पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ। यस्तै कालिकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको  छ।