ओली–नेपाल भेटले कर्णालीका एमाले नेता उत्साही, शाही सरकार ढाल्न सकिने आश

  ।   ९ बैशाख २०७८, बिहीबार १६:३९

बैशाख ९, सुर्खेत ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएपछि कर्णालीका एमाले नेता तथा कार्यकर्ता उत्साही भएका छन् । शीर्षस्थ नेताद्वयको भेटघाट एवम् छलफलले पछिल्लो समय बढेको विवाद साम्य भएर पार्टी एक हुने अपेक्षासहित उनीहरु खुसी भएका हुन् ।

‘एमाले एक ढिक्का नभएकै कारण वैशाख तीन गते हामीले कर्णालीमा एमालेको एकल सरकार बनाउने अवसर गुमाएका छौं । यसले हामी एमालेजन कसैलाई पनि राम्रो गरेन’ एमालेकी सांसद पदमा खड्का भन्छिन्, ‘नेताद्वयको भेटले फेरि एमालेलाई एकढिक्का बनाउने आश जागेको छ । हामी उत्साही छौं ।’

एमालेबाटै चुनाव जितेका अर्का सांसद सुशील थापा भन्छन्, ‘एमाले एक ठाउँमा आउनैपर्छ । हाम्रो भावनालाई शीर्ष नेताले बुझुन् ।’ उनले दुवै पक्षले आत्मआलोचना गर्दै पार्टी एक हुनुपर्नेमा जोड दिए ।

नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले पनि शीर्ष नेताको भेटवार्ता सकारात्मक र उत्साहप्रद भएको प्रतिक्रिया दिएका छन् । ‘हामी आशावादी छौं’ उनले भने, ‘नेताहरुको भेटघाट सार्थक हुनेछ ।’

कर्णाली प्रदेशमा वैशाख तीन गते एमालेकै चार सांसदले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार जोगाइदिएका थिए । माधव नेपाल पक्षका प्रकाश ज्वालाको नेतृत्वमा चार सांसदले माओवादी नेतृत्वको सरकारलाई मतदान गरेपछि एमालेकै कार्याकर्ताबाट चर्को आलोचना भइरहेको समयमा केन्द्रमा दुई नेताबीच भएको छलफलले एमाले एक ढिक्का हुने आशमा कार्यकर्ताहरु उत्साहित भएका हुन् । केन्द्रमा नयाँ खालको सहमति भएको खण्डमा प्रदेशमा एमालेको सरकार बनाउन सकिनेमा एमालेकै सांसदहरु आशावादी छन् ।

‘कर्णालीमा एमालेको सरकार बन्ने ढोका अझै खुला छ । अविश्वासको प्रस्ताव दर्ता गरेर भएपनि यो सरकारलाई हटाएर एमालेको एकल सरकार बनाउन सकिन्छ’ एक सांसद भन्छन्, ‘तर त्यसका लागि राजनीतिक रुपमा उच्च तहको सहमति आवश्यक छ । @नेपालप्रेसडटकमबाट

Next Post

रिक्त राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने

९ बैशाख २०७८, बिहीबार १६:३९
बैशाख १०, काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्यको पतपूर्तिका लागि उपनिर्वाचन मिति घोषणा गरेको हो । नेकपा माओवादीको सिफारिसमा एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल) को सांसद पद खारेज भएसँगै उक्त पद खाली […]